arrow

जनप्रतिनिधिलाई निजी क्षेत्रको 'नाईट डिनर' अफर  ! के होला असली नियत ?

logo
सुदर्शन अर्याल,
प्रकाशित २०७४ असार १९ सोमबार
haan_samman.jpg

काठमाडौं । आईतबार कार्यालय प्रवेश गर्ने वित्तिकै काठमाडौं महानगरपालिका वडा नं १६ का वडाध्यक्ष मुकुन्द रिजालको हातमा होटल एशोसिएसन नेपालको एउटा पत्र पर्यो । पत्रमा लेखिएको व्यहोरा हेरेपछि उनी एकाएक आक्रोशित बन्न पुगे । 'यी निजी क्षेत्रका प्रतिनिधिहरुले महानगरपालिकाका प्रतिनिधिहरुलाई यसरी भ्रष्ट बनाउछन् ।' उनले आक्रोशित हुँदै थपे । पत्रमा खासै अरु केही पनि लेखिएको थिएन । त्यसमा मात्रै असार २३ गते लाजिम्पाट स्थित शंकर होटलमा साँझ ५ बजे पछिको लागि जनप्रतिनिधिको सम्मान तथा रात्रिभोजको निम्ता गरिएको थियो । उनले जनप्रतिनिधिलाई सम्मान गर्नको लागि दिउँसो नभएर राती नै किन कार्यक्रम राख्ने गरिन्छ ? भन्दै आक्रोश व्यक्त गरे । उनले पाँचबजे कार्यक्रम राख्नुको अर्थ सम्मान गर्ने भन्दा पनि अर्कै रहेको बताए । 

त्यस्तै, केही दिन अघि वडा नं ३१ का वडाध्यक्ष नारायणप्रसाद भण्डारीलाई पनि  अघि सिभिल बैंक लिमिटेडले सोल्टी होटलमा रात्रि भोजको लागि निम्ता गरेको थियो। उनलाई त्यो रात्रि भोज त्यति उपयुक्त लागेन र अन्यप्रतिनिधिहरुलाई जान मन भए जान भनेर सुझाव दिए । तर, त्यो कार्यक्रममा कोही पनि गएनन् । त्यो निम्ता १६ नं वडाका प्रमुख रिजाललाई पनि आएको उनी बताउँछन् । भण्डारीले यस्तो गतिविधि सुशासनमा सुहाउने खालको नभएको बताए । 

वडा नं ७ का वडाध्यक्ष शुद्ध डंगोललाई पनि एशोसिएसनको पत्र आएको थियो । डंगोलले अन्तबाट यस्तो पत्र नआएको भएपनि होटल एशोसिएसनको पत्र भने आईतबार आफूलाई पनि आईपुगेको बताए। उनले पनि यो काम त्यति जायज नरहेको बताए । 

स्थानीय स्वायत्त शासनको अवधारणाअनुरुप केन्द्रका धेरै अधिकारहरु स्थानीय तहमा हस्तान्तरण भएपछि ठूला व्यवसायी र उद्योगपतिहरु स्थानीय जनप्रतिनिधिलाई प्रभावमा पार्ने अभियान रहेको अनुमान स्थानीय जनप्रतिनिधिहरुले गर्न थालेका छन्। चुनाव जितेर आएपछि यस्तो अफर आधा दर्जन भन्दा बढी आइसकेको उनले बताए । पाँचतारे होटलमा लगेर खुवाउने र जनप्रतिनिधिहरुलाई प्रभावमा पार्न खोज्ने निजी क्षेत्रको यस्तो हर्कतलाई निरुत्साहित गर्नै पर्ने उनीहरुको धारणा छ । यसरी प्रभावमा पार्न खोज्ने व्यवसायीहरुमा अधिकांश होटेल मालिक, बैंकर र ठूला कर्पोरेट हाउसका ‘साउजी’हरु रहेको बताइएको छ । 

यसरी पत्र नै पठाएर गरिएको निमन्त्रणाको आशय हेर्दा राती पाँचतारे होटलमा जनप्रतिनिधिहरुलाई सुराको तालमा आफ्नो स्वार्थबारे स्पष्ट पार्ने र त्यही तालमा आफ्नो काम बनाउने खेल हो भन्ने बारे जनप्रतिनिधिहरु नै जानकार छन् । तर, यस्तो पत्रले निजी क्षेत्र भने जनप्रतिनिधिहरुलाई नै पाँचतारे होटलमा पार्टीको अफर गरेर प्रभावित तुल्याउन खोजिरहेको देखिन्छ । 

यस्तो अफर मेयर र उपमेयरलार्इ दैनिक रुपमा आउने गरेको छ । तर, अधिकांशमा उनीहरुले सहभागिता जनाउने गरेका छैनन्  । यस्ता गतिविधिहरु देख्दा सामान्यजस्तो लागेपनि यसभित्र लुकेको रहस्य भने निकै डरलाग्दो रहेको बारे जनप्रतिनिधिहरु स्वय‌ं सचेत देखिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ