arrow

सिंचाई कुलोले खेतमा पानी मात्रै होइन गाउँसमेत झलमल्ल बनायो

logo
लोकेन्द्र खनाल,
प्रकाशित २०७४ असार २० मंगलबार
sinchai_rukum.jpg

रुकुम । रुकुमको बाँफिकोट गाउँपालिका वडा नं. ६ मा रहेको दहखोला सिँचाई कुलो मर्मत भएपछि गाउँमा सिँचाईका साथै विद्युत सेवा पनि सञ्चालन भएको छ । २०४४ सालमा निर्माण भएको सिँचाई कुलो मर्मत नहुँदा स्थानीयलाई निकै समस्या भएको थियो । ठाउँ ठाउँमा पानी चुहिने समस्या झेलीरहेका स्थानीयहरुलाई मर्मत भएपछि सहज भएको बताएको छ । 

जिल्ला समन्वय समिति रुकुम अन्तर्गत नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमको आर्थिक सहयोगमा पानी चुहीने ठाउँमा कुलो मर्मत गरिएको थियो । कुलो मर्मत गरिएपछि अहिले निकै सजिलो भएको स्थानीयको भनाई छ । “पहिले मुहान बाट लगाएको पानी गाउँसम्म नपुग्दा खेतवारीमा सिंचाई गर्न पनि आलो पालो गर्नुपर्ने बाध्यता थियो–स्थानीय रत्नबहादुर खत्रीले भने, अहिले कुलो मर्मत भएपछि त निकै सजिलो भएको छ गाउँमा बिजुली पनि झलमल्ल भएको छ ।” 

सिंचाई कुलो मर्मतको लागि अहिलेसम्म नेपाल जलवायु परिवर्तन सहयोग कार्यक्रमले रु २५ लाख सहयोग गरेको कार्यक्रमका जिल्ला संयोजक भक्त भण्डारीले बताए । यसका साथै यस सिंचाई कुलो मर्मतको लागि स्थानीय र अन्य विभिन्न निकायले पनि सहयोग गरेको स्थानीय धनबहादुर कुसारीले जानकारी दिए ।

सिंचाई कुलो मर्मत भएसँग अहिले त्यस गाउँमा विद्युत पनि उत्पादन गरिएको छ । दहखोला सिंचाई कुलोको प्रयोग गरेर त्यहाँ स्थानीयले २१ किलोवाट क्षमताको विद्युत उत्पादन गरेका छन् । विद्युत उत्पादन भएपछि साविकको मग्मा गाविस वडा नं. १ र २ का कबिर २ सय घरपरिवारको घरमा बिजुली बलेको विद्युत निर्माण उपभोक्ता समितिका अध्यक्ष हरिबहादुर खत्रीले बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ