दक्षिण सिरिया युद्धविरामले शान्ति वार्तालाई थप टेवा पुर्याउने : संयुक्त राष्ट्रसङ्घ
प्रकाशित २०७४ असार २५ आइतबार
687
Shares
दमास्कस (सिरिया)। संयुक्त राष्ट्रसङ्घले संयुक्त राज्य अमेरिका र रसियाबीच सिरियाको दक्षिण–पश्चिम क्षेत्रमा युद्धविराम गरेकोमा स्वागत गर्दै यसले सिरियामा विगत छ बर्षदेखि जारी द्वन्द्व अन्त्यका लागि संयुक्त राष्ट्रसङ्घको पहलमा हुनगइरहेको शान्तिवार्तालाई सहयोग पुर्याएको बताएका छन्।
संयुक्त राष्ट्रसङ्घका सिरियाका लागि विशेष उप–प्रतिनिधि राम्जी राम्जीले एक दिन अघि जर्मनीको ह्यामवर्गमा गरिएको सम्झौताको शनिबार सार्वजनिक गर्नुहुँदै सिरिया द्वन्द्व समाधानका लागि शुक्रबारको सहमतिले एक कदम ठीक दिशातिर लगेको बताए।
उनले सिरियाका अन्य क्षेत्रपनि हिंसा कम गर्न यस्तै सम्झौता हुनेमा विश्वास गरे। राष्ट्रसङ्घ प्रतिनिधि राम्जी संयुक्त राष्ट्रसङ्घका पहलमा जेनेभामा यही सोमबार हुने शान्ति वार्ताका लागि तयारी गर्न शनिबार दमास्कस पुगेका थिए।
युद्धविराम दमास्कसको समय अनुसार आइतबार मध्यान्नदेखि लागु हुने राष्ट्रसङ्घका अधिकारीले बताए। सम्झौताले अमेरिका र रसियाबीचको नयाँ तहको सहकार्यलाई प्रतिविम्वित गरेको छ। रासस-एपी