भोलिदेखि ललितपुर महानगरका करदातालाई १० प्रतिशत छुट
प्रकाशित २०७४ असार ३१ शनिबार
322
Shares
काठमाडौं । ललितपुर महानगरपालिकाले भोलि (आईतबार)देखि एक वर्षसम्म १० प्रतिशतसम्म कर छुट दिने प्रस्ताव गरेको छ । शनिबार एक समारोहकाबीच प्रस्तुत आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा आर्थिक वर्ष २0७४/७५ लाई कर वर्षको रुपमा घोषणा गरेर उक्त वर्ष भरी नै मालपोत कर, घरजग्गा कर र व्यवसाय करमा १० प्रतिशत छुट दिन प्रस्ताव गरिएको महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए ।
साथैं विगतका वर्षहरुका बक्यौतामा १० प्रतिशत छुट गरी जरीवाना समेत मिनाहा गर्ने महर्जनले जानकारी दिए । उनका अनुसार करको दायरामा पनि केही परिवर्तन गरिएको छ । कम्तिमा ५ हजार वर्गफिटसम्मको भवनलाई आवासीय भवन मानिने र ग्राउण्ड कभरेज १५ सय वर्ग फिटभन्दा बढी वा ५ हजार वर्गफिट भन्दा बढी आवाशीय क्षेत्रमा निर्माण भएको भए पनि व्यापारी सरह नै कर लिने नीति बनाएको छ ।
त्यस्तै करदाताहरुले कर तिर्न बाँकी रहेकाहरुलाई कर तिर्न प्रोत्साहित गर्ने र अटेरी गर्नेहरुको नाम वेभसाईटमा नै सार्वजनिक गर्ने नीति समेत प्रस्ताव गरिएको छ । ३ वर्ष भन्दा अगाडि अन्य सरकारी निकायमा दर्ता भएका सामाजिक संघसस्थाहरुको हकमा ३ वर्षको मात्रै कर लिने र सो भन्दा पछि दर्ता भएकाहरुलाई दर्ता भएदेखि कै कर लिने नीति अपनाईने महानगरपालिकाले जनाएको छ ।
नगरस्तरीय राजश्व अनुगमन समिति गठन गरी करदाताहरुको गतिविधि र करको विषयमा नियमित अनुगमन गर्ने पनि प्रमुख महर्जनले जानकारी दिए । यो नीति तथा कार्यक्रम शनिबार नै सुरु भएको नगरसभामा पेश हुनेछ र नगरसभाले पारित गरेपछि यो कार्यान्वयनमा आउने छ ।