अमेरिका–क्युवा सम्बन्धमा वाधा आउनसक्ने : राष्ट्रपति क्यास्ट्रो
प्रकाशित २०७४ साउन १ आइतबार
641
Shares
हवाना (क्युवा)। क्युवाका राष्ट्रपति राहुल क्यास्ट्रोले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको क्युवालाई हेर्ने कडा अडानका कारण लामो समयपछि सन् २०१५ तिर सुधारिएको सम्बन्धमा समस्या आउनसक्ने बताएका छन्। “अमेरिकी वर्तमान् राष्ट्रपतिद्वारा घोषणा गरिएको क्युवालाई हेर्ने दृष्टिकोणका कारण दुई देशबीचको कुटनैतिक सक्बन्धमा बाधा आउनसक्छ,” शुक्रबार क्युवाको राष्ट्रिय टेलिभिजनबाट प्रसारित यस बर्षको संसदको पहिलो सत्रको समापन कार्यक्रममा क्यास्ट्रोले बताए।
क्यास्ट्रोले अमेरिकी पूर्व राष्ट्रपति बाराक ओवामाद्वारा कम्युनिष्ट राष्ट्र क्युवासँग सहकार्यका लागि दुई बर्ष पहिले हवानामा अमेरिकी राजदूतावास पुनः सञ्चालनमा ल्याउनु पहिले जनाएको प्रतिवद्धताबाट आंशिक रूपमा पछि हेटेको सङ्केत आएको भन्दै सम्बोधनमा ट्रम्पको आलोचना गरेका थिए।
पूर्व राष्ट्रपति ओवामाले सन् २०१५ को जुलाई २० मा हवानामा राजदूतावास खोल्दै क्युवालाई हेर्ने अमेरिकी दृष्टिकोणमा सुधार भएको घोषणा गरे।
ट्रम्पले केही दिन पहिले क्यास्ट्रो विरोधि आन्दोलनकारीलाई सानो हवाना भनेर चिनिने अमेरिकी शहर मियामीमा अमेरिकीलाई क्युवा जानमा कडाई गरिएको घोषणा गर्दै क्युवा अमेरिकाबीचको व्यापार सम्वन्धमा प्रतिबन्ध लगाएको बताए।
क्यास्ट्रोले पछिल्लो नीति सन् १९६२ देखि लगाइएको क्युवाविरुद्धको प्रतिबन्ध जस्तै सम्बन्धमा कडाईको सङ्केत भएको जनाउँदै यसले पूरानो शीतयुद्धको अनुभूति गराएको संसदको सम्बोधनमा बताए। रासस-एएफ्पी