arrow

धादिङका चार स्थानिय तहको आय–व्यय विवरण पारित

logo
प्रकाशित २०७४ साउन १ आइतबार
dhading_district_map.png

मलेखु (धादिङ) । दुई नगरपालिका र ११ वटा गाउँपालिका भएको धादिङमा आर्थिक वर्षको अन्तिम दिनमा आइपुग्दा तीन गाउँपालिका र एक नगरपालिकाले शनिबार चालु आर्थिक वर्षको आय–व्यय विवरण पारित गरेका छन् ।

अन्य गाउँपालका र नगरपालिकाले आव सुरु हुनुपूर्व नै आय–व्यय विवरण प्रस्तुत गरी गाउँ र नगरसभाले पारित गरेर लागू गर्नुपर्नेमा निर्वाचित जनप्रतिनिधि अलमलमा परेकाले समयमै सभा सम्पन्न हुन नसकेको हो ।

थाक्रे गाउँपालिकाले रु ३३ करोड ७१ लाख ६० हजारको आय–व्यय विवरण पारित गरेको छ । सिद्धलेक गाउँपालिकाले ३० करोड ५० लाख र गल्छी गाउँपालिकाले  २७ करोड १६ लाखको आय–व्यय विवरण पारित गरेको छ । नीलकण्ठ नगरपालिकाले ६९ करोड १४ लाख २८ हजारको आय–व्यय विवरण प्रस्तुत गरेको छ ।

आय–व्यय विवरण पारित गर्न सरकारले असार १५ गतेसम्म समय उपलब्ध गराएकामा केही गाउँपालिकाले कर्मचारी अभावमा समयमै काम सम्पन्न गर्न नसकेको जनाएको छ । आवको सुरुको दिनदेखि नै नियमित कामकाज गर्नुपर्ने भएकाले समयमै बजेट ल्याउन लागिपरेको गल्छी गाउँपालिकाका उपाध्यक्ष राधा तिमल्सिनाले बताइन् ।

धुनीबेशी नगरपालिकाले कार्यकारी अधिकृत र लेखाअधिकृत नभएकाले बजेट निर्माण गर्न नसकेको जनाएको छ । सरकारले वर्षको अन्तिम दिनमा मात्र कर्मचारी पठाएकाले अब एक सातामै आय–व्यय विवरण प्रस्तुत गरिने त्यहाँका नगरप्रमुख बालकृष्ण आचार्यले जानकारी दिए ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ