arrow

जिल्ला शिक्षा कार्यालयबाटै अनियमिता

logo
प्रकाशित २०७२ पुष २३ बिहिबार
 
जुम्ला। जिल्ला शिक्षा कार्यालय जुम्लाले कक्षा ८ को जिल्लास्तरीय परीक्षामा विद्यार्थीबाट रु आठ लाख असुली गरेको पाइएको छ । कक्षा ८ को जिल्लास्तरीय परीक्षा सञ्चालन तथा व्यवस्थापन गर्न भन्दै जिशिका जुम्लाले प्रतिविद्यार्थी रु ३०० का दरले रु आठ लाख ४९ हजार शुल्क असुलेको पाइएको हो । 
 
जिल्लाका सबै विद्यालयले दुई हजार ६८३ विद्यार्थीबाट प्रतिविद्यार्थी रु तीनसयदेखि सातसयका दरले असुलेको खुलासा भएको छ । जहाँ कि शिक्षा नियमावलीको परिच्छेद २५, नियम १४७ को उपनियम ६ मा ऐनबमोजिम निःशुल्क तथा अनिवार्य शिक्षा लागू भएपछि सामुदायिक विद्यालयले कक्षा ८ सम्मको आधारभूत शिक्षा प्रदान गर्न विद्यार्थीबाट शुल्क लिन सक्ने छैन भन्ने उल्लेख गरिएको छ । 
 
यही विषयलाई लिएर नेपाल पत्रकार महासङ्घ जुम्लाका अध्यक्ष बरमबहादुर महत नेतृत्वको सम्पूर्ण सञ्चारकर्मीको टोलीले जिशिकाले विद्यार्थीबाट गरेको शुल्क असुलीको सूचना माग गरेको थियो । टोलीले विद्यार्थीबाट अनियमित असुली गरिएको रु आठ लाख, यो रकम ब्यालेन्स खाताको नाम र भएको खर्चको सूचना पाऊँ भनी निवेदन गरेको थियो । तर टोलीले कक्षा ८ को जिल्लास्तरीय परीक्षा २०७२ व्यवस्थापन तथा सञ्चालनार्थ प्रतिविद्यार्थी रु तीनसय उठाउन गत कात्तिक २ गते जिशिका जुम्लाले गरेको निर्णयको प्रतिलिपिबाहेक अरू केही पाउन सकेन । 
 
जिल्ला शिक्षा अधिकारी क्षेत्रबहादुर भण्डारीले विद्यार्थीबाट एक पैसा पनि उठाउन नपाउने र यदि उठाइएको खण्डमा विद्यालय स्वयम्ले फिर्ता गर्नुपर्ने जनाउनुभयो । परीक्षा सञ्चालनका लागि जिशिकाबाट उपलब्ध गराइएको नन् स्यालरी पिसिएफबाट शुल्क उपलब्ध गराउन विद्यालयलाई निर्देशन गरिएको उहाँको भनाइ थियो । विद्यार्थीबाट लिइएको रु तीनसय जम्मा भएको विषयमा आफूलाई कुनै जानकारी नभएको लेखपाल महाकृष्ण पाण्डेले बताए । केन्द्रबाट भने ८ कक्षाको परीक्षा सञ्चालन तथा व्यवस्थापनका लागि रु तीन लाख तीन हजार आएको पाण्डेको भनाइ थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ