arrow

एकसय सात वर्षका वृद्धले पनि थापे भत्ता

logo
प्रकाशित २०७४ साउन ११ बुधबार
sankhuwasabha.png

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिका कार्यालयले सामाजिक सुरक्षा भत्ताअन्तर्गतको रकम घरघरमा गएर नगरपालिकाका कर्मचारी र वडाध्यक्षहरुले वितरण गरेका छन् । 

स्थानीय तहको निर्वाचनपछि पहिलो पटक चैनपुर नगरपालिकाका जनप्रतिनिधिले सामाजिक सुरक्षा भत्ताअन्तर्गत अपाङ्ग, विधुवा महिला तथा ज्येष्ठ नागरिक भत्ता वितरणमा जुटेका हुन् । 

चैनपुर नगरपालिका कार्यालयमा रु तीन करोड ८३ लाख सामाजिक सुरक्षा भत्ता निकासा भएकोमा चैनपुर नगरपालिका–९ बस्ने १०७ वर्षका वृद्धा वीरबहादुर तामाङले पनि रु १६ हजार नगद आफ्नै घर आँगनमानै बुझ्न पाएकोमा दङ्ग छन् । 

कार्यालयले सामाजिक सुरक्षा भत्ता वितरणमा सहजता ल्याउन स्थानीय सरकारी स्वामित्वमा रहेको बैकमा खाता खोलेको भएपनि घर आँगनमा नै गएर सामाजिक सुरक्षा भत्ता बाँडेपछि बैंकमा सेवाग्राहीको पैसा जम्मा गर्ने झञ्झटबाट मुक्त नगरपालिका बनेको छ । 

उसो त मृत्यु भएकाका नाममा समेत सामाजिक सुरक्षा भत्ता आउँदै गरेको, मृत्यु भएका रेकर्ड सम्बन्धित निकायमा नपठाउँदा कति रकम फिर्ता हुने भन्ने यकिन भइनसकेको चैनपुर नगरपालिकाका प्रमुख भरतकुमार खत्रीले बताउनुभयो । उहाँका अनुसार अहिलेसम्म ११ वटै वडाका वडाध्यक्षले ७० प्रतिशतभन्दा माथि भत्ता बाँडिसकेको जनाइएको छ । 

नगरपालिकामा सडक बत्ती 

यसैबीच, चैनपुर नगरपालिकाका तीनवटा बजारमध्ये दुई बजारमा सडक बत्ती बल्न शुरु भएको छ । 

नेपाल सरकारको लगानीमा रु २६ लाख १६ हजारको लागतमा खराङ्ग बजारमा नौवटा सडक बत्ती र चैनपुर बजारमा १५ वटा सडक बत्ती सोलार जडान गरी बाल्ने कार्य सम्पन्न भएको छ । 

चैनपुर नगरपालिकाको पोखरी बजार, धार्मिक शक्तिपीठ सिद्धकाली मन्दिर क्षेत्रको बजारमा नौवटा सडक बत्ती बालिने उपभोक्ता समितिका सचिव धनबहादुर तामाङले जानकारी दिनुभयो । सडक बत्ती जडान भएलगत्तै सवारीमा सहजता र चोरी डकैती गर्ने कार्यमा संलग्न जो कोहीलाई सजिलो नहुने बजारवासीको ठम्याइ छ । 

चैनपुर नगरपालिकाको आर्थिक वर्ष ०७३÷७४ को वार्षिक बजेटबाट कार्यक्रम सम्पन्न भएको नगरपालिकाका प्राविधिक विक्रम गिरीले जनाउनुभयो । चैनपुर नगरपालिका बजार क्षेत्रमा चाँडै पुग्नेगरी थप सडक बत्ती राख्नुपर्ने समेत नगरपालिका कार्यालयले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ