भन्सार छलेर कपडाको अवैध व्यापार गर्दै आएका तीनजना पक्राउ
प्रकाशित २०७४ साउन ११ बुधबार
218
Shares
इटहरी। सीमावर्ती विहार अमडुवा नाकाबाट भन्सार छली अवैधरुपमा नेपाली बजारमा कपडा ल्याउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलसहित पक्राउ गरिएका उनीहरुलाई बुधबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
करिब रु १० लाख मूल्यबराबरको लत्ताकपडासहित सुनसरी बर्जु गाउँपालिका–१ निवासी लक्ष्मी कामत, अनिल गच्छदार र हरिनारायण राईलाई उनीहरुले प्रयोग गर्ने मोटरसाइकल क्रमशः को ५ प ६५४०, बा ९ प ७२०४ र को ४ प ३२८४ सहित कपडासहित पक्राउ गरेको सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक पोषराज पोख्रेलले पत्रकार सम्मेलनमा जानकारी दिए।
भारतको विहारको बजारबाट सधैँजसो भन्सार छलेर मोटरसाइकलमा गैरकानुनी रुपमा सुनसरीतिर कपडा ल्याई अमडुवालगायतका क्षेत्रमा भण्डारण गरी सुनसरी र मोरङका बजारमा आपूर्तिको धन्दा गर्दै आएको सुराकका आधारमा ती अवैध कारोबारमा संलग्न व्यापारी पक्राउ परेका पनि उनले जानकारी दिए ।
पक्राउ परेका तिनै जनालाई आवश्यक कानूनी कारबाहीसहित राजश्व असुल गर्नका लागि सुनसरी भन्सार कार्यालय कोशी ब्यारेज पठाउने तयारी भइरहेको पनि प्रहरी प्रमुख पोख्रेलले जानकारी दिए। रासस