उत्तर कोरियाले तत्काल क्षेप्यास्त्र परीक्षण गर्दैन : दक्षिण कोरिया
प्रकाशित २०७४ साउन १२ बिहिबार
387
Shares
सोल। उत्तर कोरियाले तत्कालै अर्को ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गर्ने तयारी गरिरहेको भनिए पनि त्यसको कुनै सङ्केत नभेटिएको दक्षिण कोरियाको रक्षा मन्त्रालयले जानकारी दिएको छ ।
विश्व समुदायको आग्रहको बेवास्ता गर्दै उत्तर कोरियाले यसै महिनाको सुरुवातमा एक शक्तिशाली ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको समाचार आएको थियो । त्यसपछि पनि उसले लगत्तै अर्को क्षेप्यास्त्र परीक्षण गर्नसक्ने भनी समाचारहरु आएका थिए ।
दक्षिण कोरियाली रक्षा मन्त्रालयद्वारा बिहीबार सोलमा आयोजित पत्रकार सम्मेलनका क्रममा दक्षिण कोरियाली सैन्य प्रमुखले सो जानकारी दिएका हुन् ।
सन् १९५० देखि १९५३ सम्म भएको उत्तर र दक्षिण कोरियाबीचको युद्धपछि भएको सैन्य सम्झौताको ६४ औँ वार्षिकोत्सवको अवसरमा उत्तरले यसै हप्ताभित्र अर्को परीक्षण गर्न लागेको भनी समाचार आएको थियो ।
‘तर तत्कालका लागि उत्तर कोरियाले उत्तर र दक्षिण कोरियाली सैनिक सम्झौताको अवसर पारेर यस्तो परीक्षण गर्नसक्ने भनी आएको समाचार सही हुने अवस्था देखिँदैन’ सैनिक प्रमुखले भनेका छन् ।
हालैका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उत्तर कोरियाले अर्को क्षेप्यास्त्र हान्ने तयारी गरिरहेको बताएका थिए । सो समाचारको दक्षिण कोरियाली रक्षा मन्त्रालयले यसअघि पनि खण्डन गरेको थियो ।
दक्षिण कोरियाली रक्षा मन्त्रालयले आगामी केही समयभित्रै उसले अर्को क्षेप्यास्त्र परीक्षण गर्ने बारेमा गरिएको खोजीमा त्यस्तै कुनै पनि सङ्केत नपाइएको जानकारी दिएको छ ।
यसअघि उत्तरले जुलाई ४ मा गरेको परीक्षणलाई शक्तिशाली रहेको भनिएको छ । विज्ञहरुले उक्त परीक्षण यसअघिको भन्दा शक्तिशाली रहेको र यसले अलास्कासम्म मार हान्न सक्ने खालको रहेको समेत बताएका छन् ।
यसअघि जुलाई ४ मा गरिएको क्षेप्यास्त्र परीक्षण दक्षिण कोरियाले गरेको पाचौँ परीक्षण हो । यस लगत्तै उसले अर्को छैठौँ र यस्तै शक्तिशाली परीक्षणको तयारी गरिरहेको अनुमानका बारेमा बिहीबार दक्षिण कोरियाले स्पष्ट गरेको हो ।
उत्तर कोरियाले गएको कम्तीमा पनि दुई वर्षयतादेखि निरन्तररुपमा आणविक परीक्षण जारी राखेको छ । साथै उसले हरेक परीक्षणसँगै दक्षिण कोरिया र अमेरिकाको विरोध पनि गर्ने गरेको छ ।
संयुक्त राष्ट्रसङ्घ र विश्व समुदायले उत्तर कोरियाले बारम्बार गर्ने गरेको यस्तो आणविक परीक्षणले अन्तर्राष्ट्रिय सुरक्षा मापदण्डका साथै प्रचलित कानुनको उल्लङ्घन गरेको प्रतिक्रिया दिँदै आएका छन् ।
उत्तर कोरियाली राजधानी प्योङ्याङ्को नजिकको समुद्रबाट परीक्षण गरिएको यो क्षेप्यास्त्र अलास्कासम्म पुग्नसक्ने भनिएको थियो । तर दक्षिण कोरियाले भने मङ्गलबारको यो परीक्षण बढीमा ९३० किलोमीटरसम्म मात्र पुग्न सक्ने बताएको छ ।
जापानले भने सो क्षेप्यास्त्र करिब दुई हजार ५०० किलोमीटरसम्म मार हान्न सक्ने क्षमताको रहेको अनुमान गरेको थियो ।एएफपी