- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सरकारले आमरण अनसनमा बसेका डा. गोविन्द केसीसँग सम्झौता गर्न वार्ता टोली गठन गरेको छ । मन्त्रिपरिषद् विस्तार भएकै भोलिपल्ट बसेको मन्त्रिपरिषद बैठकले शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता टोली गठन गरेको हो । वार्ता समितिमा स्वास्थ्य मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिवलाई सदस्य राखिएको प्रधानमन्त्रीका प्रेस विज्ञ गोविन्द परियारले जानकारी दिए ।
माथेमा आयोगले दिएको प्रतिवेदनले समेटेका विषयहरुलाई राखेर छुट्टै चिकित्सा शिक्षा ऐन बनाउनु पर्नेलगायत ७ बुँदे माग राखेर डा. गोविन्द केसी चार दिनदेखि त्रिवि शिक्षण अस्पतालमा ११औँ पटक अनसन बसेका छन् ।
अहिले स्वास्थ्यमन्त्री भएका गिरिराजमणि पोखरेलले शिक्षामन्त्री हुँदा डा. भगवान कोइरालाको संयोजकत्वमा बनाएको आयोगले दिएको प्रतिवेदनका आधारमा बनेको चिकित्सा शिक्षा ऐनको मस्यौदा संसदमा विचाराधिन छ । डा. केसीले त्यो मस्यौदामा माथेमा आयोगले दिएका केही महत्वपूर्ण सुझाव छुटेका भन्दै थप गरेर पारित गर्नु पर्ने माग राखेका छन् ।
सरकारको प्रवक्ताको जिम्मेवारी पाएका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब अनसन नै बस्न नपर्ने गरी केसीका माग सम्बोधन गर्ने गरी छलफल भएको सुनाए । उनका अनुसार विहिबारको मन्त्रिपरिषद बैठकले २५ जिल्लाका गरिब घर परिवारलाई परिचय पत्र वितरण गर्ने निर्णय समेत गरेको छ । वुधबार मात्रै प्रधानमन्त्री शेरबहादुर देउवाले दोस्रो पटक मन्त्रिपरिषद् विस्तार गरेर सदस्य संख्या २७ पुर्याएका छन् ।