लेखा समितिकै सभापति भन्छन्-नीति तथा कार्यक्रमबाटै भ्रष्टाचार
प्रकाशित २०७४ साउन १४ शनिबार
143
Shares
बनेपा । सार्वजनिक लेखा समितिका सभापति डोरप्रसाद उपाध्यायले सरकारको नीति तथा कार्यक्रमबाट नै भ्रष्टाचार तथा अनियमितता हुने गरेको बताएका छन् ।
महालेखा परीक्षकको कार्यालयले धुलिखेलमा आयोजना गरेको ‘सञ्चारकर्मीसँग लेखा परीक्षण’ विषयक अभिमुखीकरणमा उनले भने, “नीति तथा कार्यक्रमबाट कुनै पनि नियतको कुरा प्रमाणित भएर आउँदैन ।”
सभापति उपाध्यायले सरकारको पुँजिगत खर्च कम हुनुमा बजेट त्यसको कारकतत्व भएको उल्लेख गर्दै सरकारको लोकप्रियताका नाममा अनियमितता बढेको छ, भने ।
उनले बजेट सम्बद्घ प्रक्रियाबाटै अनियमितता हुने गरेको भन्दै नीतिगत भ्रष्टाचार अन्त्य सबैको साझा विषय भएको बताए ।
महालेखा परीक्षक टंकमणि शर्माले आन्तरिक लेखा परीक्षण नभए कर्मचारीको सरुवा तथा वढुवामा रोक लगाइएको उल्लेख गर्दै सार्वजनिक रुपमा जवाफदेही र जिम्मेवार बनाउन लेखा परीक्षण आवश्यक भएको बताए ।
उनले भने, “सरकारी निकायले यही भदौभित्र लेखा परीक्षण गराउन जरुरी छ ।” महालेखा परीक्षक शर्माले वित्तीय अनुशासन कायम गर्न सार्वजनिकरुपमा पदाधिकारीलाई जवाफदेही बनाउन आवश्यक भएको भन्दै लेखा परीक्षणको विषयमा कार्ययोजना बनाइएको बताए । दुई दिनसम्म सञ्चालन हुने अभिमुखीकरणमा करिब ३० पत्रकार सहभागी छन् ।