arrow

बिम्स्टेक मन्त्रीस्तरीय बैठक बिहीबार काठमाडौंमा, तयारी भव्य

logo
प्रकाशित २०७४ साउन २१ शनिबार
bimstec.jpg

काठमाडौँ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयोग (बिम्स्टेक)को १५औँ मन्त्रीस्तरीय बैठक यही साउन २६ र २७ गते काठमाडौँमा हुने भएको छ ।

बैठकको तयारी अन्तिम चरणमा पुगेको र सबै सदस्य मुलुकका विदेश मन्त्रीले त्यसमा भाग लिने सुनिश्चित गरेका परराष्ट्र मन्त्रालयले जनाएको छ । बिम्स्टेकको अध्यक्ष मुलुक नेपालले पहिलोपटक उक्त बैठक आयोजना गर्न लागेको हो ।

भारत, भुटान, बंगलादेश, थाइल्याण्ड, म्यान्मा र श्रीलंका सदस्य रहेको उक्त उपक्षेत्रीय संगठनको चौथो शिखर सम्मेलन काठमाडौँमा आयोजना गर्ने निर्णय मन्त्रीस्तरीय बैठकले गर्ने सम्भावना छ ।

बैठकमा भाग लिन भारतका विदेश मन्त्री सुष्मा स्वराज, श्रीलंकाका विदेश मन्त्री रवि करुणनायके, बंगलादेशका विदेश मन्त्री अबुल हसन महमुदअली र भूटानका विदेश मन्त्री दाम्चो दोर्जी आगामी बिहीबार काठमाडौँ आइपुग्ने कार्यक्रम छ । थाइल्याण्ड र म्यान्माबाट भने उपविदेश मन्त्रीस्तरीय बैठकमा सहभागिता हुनेछ ।

सोही दिन सदस्य मुलुकका बाह्य मामिला–विदेश–परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरुको १८औँ बैठक (एसओएम)हुनेछ । परराष्ट्र सचिव शंकरदास वैरागीले उक्त बैठकको नेतृत्व गर्नेछन् ।

मन्त्रीस्तरीय बैठकमा बिम्स्टेकले पहिचान गरेका व्यापार, लगानी, यातायात तथा सञ्चार, ऊर्जा, पर्यटन, कृषि, प्रतिआतंकवाद, गरिबी निवारण, जनस्वास्थ्य, वातावरण तथा प्राकृतिक विपत्ति र जलवायु परिवर्तनजस्ता १४ क्षेत्रमा विचारविमर्श हुने परराष्ट्र मन्त्रालयको क्षेत्रीय संगठन महाशाखाका प्रमुख मणिप्रसाद भट्टराईले राससलाई जानकारी दिए ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बिहीबार अपराह्न राजधानीमा बैठकको उद्घाटन एवं त्यसलाई सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिँदै उनले सोही दिन साँझ सदस्य मुलुकका बाह्य मामिला/विदेश/परराष्ट्रमन्त्रीसँग सामूहिक शिष्टाचार भेट गर्ने बताए ।

तेस्रो शिखर सम्मेलन र यसअघिका मन्त्रीस्तरीय बैठकका निर्णय कार्यान्वयनको समीक्षाका साथै बिम्स्टेकअन्तर्गतका पारस्परिक सहयोगका विषयलाई दु्रतगतिमा कार्यान्वयन गर्नेबारेमा १५औँ बैठक केन्द्रित हुने अपेक्षा गरिएको महाशाखा प्रमुख भट्टराईले बताए ।

स्थापनाको २०औँ वर्षमा रहेको बिम्स्टेक मन्त्रीस्तरीय बैठकमा उपप्रधानमन्त्री एवं परराष्ट्र मन्त्री कृष्णबहादुर महराले नेतृत्व गर्नुहुनेछ । साथै, उनले प्रतिनिधिमण्डलको सम्मानमा बिहीबार नै रात्रिभोजको आयोजना गर्नेछन् ।

दक्षिण र दक्षिणपूर्वी एसियाका सात मुलुकको उपक्षेत्रीय संगठन बिम्स्टेकको अध्यक्षता सन् २०१४ मा नेपालले ग्रहण गरेको हो । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ