- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रत्ननगर । चितवनको भरतपुर महानगरपालिकाका नवनिर्वाचित प्रमुख रेणु दाहालले महिलाको हक अधिकार स्थापित गर्न लागिपर्ने बताएकी छिन् ।
उनले महिलाको अधिकारको पक्षमा र एकल महिलाको अधिकार स्थापित गर्ने कुरामा आफूले केही गरेर देखाउने प्रतिक्रिया दिइन् । पहिलो काम नै महिलाको अधिकार सुरक्षित गर्ने रहेको उनको भनाइ थियो ।
शनिबार राति करिव १०ः३० बजे विजयी भएकी उनले संक्षिप्त प्रतिक्रिया दिँदै देशकै केन्द्रभागमा रहेको भरतपुर महानगरलाई एउटा व्यवस्थित शहरका रुपमा विकास गर्ने बताइन् । उनले विगतमा गरेको प्रतिबद्धता पूर्ण कार्यान्वयन गर्ने बताइन् ।
“देशकै केन्द्रभागमा महानगर भएकाले समृद्ध र एउटा व्यवस्थित शहर बनाएर अघि बढ्ने छु, दाहालले भनिन्, “पहिलो, दोस्रो र तेस्रो गरेर प्राथमिकताको आधारमा काम गर्छु ।”
यस्तै नवनिर्वाचित उपप्रमुख पार्वती शाहले विगतमा बनाएको घोषणापत्र र गुरुयोजना बनाइसकेकाले त्यसअनुसार अघि बढ्ने बताइन् ।
प्रमुख र उपप्रमुख महिला नै भएकाले पनि महिलाका विषयमा गम्भीर भएर अघि बढ्ने उनको भनाइ थियो । उनले सबै पक्षलाई मिलाएर विकास र नगरको समृद्धिमा लाग्ने प्रतिबद्धता जनाइन् ।
भरतपुर महानगरको प्रमुखमा नेकपा एमालेका देवी ज्ञवालीलाई २०३ मतले पछि पार्दै नेकपा माओवादी केन्द्रकी रेणु दाहाल विजयी भएकी थिइन् । उनले ४३ हजार १२७ मत प्राप्त गरेकी थिइन् भने उनका निकटतम प्रतिद्वन्द्वी ज्ञवालीले ४२ हजार ९२४ मत प्राप्त गरे ।
यस्तै उपप्रमुखमा काँग्रेसकी पार्वती शाहले ४७ हजार १९७ मत प्राप्त गरी विजयी भइन् भने उनकी निकटमत प्रतिद्वन्द्वी एमालेकी दिव्य आचार्यले ३९ हजार ५२५ मत प्राप्त गरिन् । निर्वाचित भएपछि राति नै सामान्य विजयी जुलुस निकालिएकामा आइतबार पनि भरतपुरमा भव्य विजयी जुलुस निकाल्ने तयारी छ ।
भरतपुरमा माओवादी केन्द्र र काँग्रेसले प्रमुख र उपप्रमुखमा तालमेल गरेको थियो । गएको जेठ १४ गते मतपत्र च्यातिएपछि विवादित बनेको निर्वाचन अघिल्लो शनिबार सर्वोच्चको फैसलासँगै भरतपुर–१९ मा पुनः मतदान भएको थियो । रासस