arrow

भरतपुर एशियाकै नमुना महानगर बन्ने

logo
प्रकाशित २०७४ साउन २२ आइतबार
bharatpur.jpg

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेणु दाहालले भरतपुर महानगरलाई देशकै र एशियाकै नमूना महानगरका रुपमा विकास गरिने बताएकी छन्। 

निर्वाचनमा विजय भएपछि  आइतबार आयोजित पदयात्रामा सहभागीलाई सम्बोधन गर्दै उहाँले प्राकृतिक सम्पदा र सुगमताका हिसाबले महत्वपूर्ण क्षेत्र भरतपुर नगरवासीको सुझाव र सल्लाहअनुरुप नै आफू अघि बढ्ने बताइन् । 

कार्यक्रममा नगर उपप्रमुखमा विजयी पार्वती शाहले जनताले दिएको मतको कदर गर्दै अबको पाँच वर्षमा नमूना नगर बनाउन आफूहरु सक्रिय रुपमा लाग्ने प्रतिबद्धता व्यक्त गरिन् । 

सभालाई सम्बोधन गर्दै नेकपा(माओवादी केन्द्र)का स्थायी कमिटी सदस्य अमिक शेरचनले  सिंहदरबारको अधिकार गाउँसम्म पुर्याउन अहिलेको नेतृत्व सफल हुने विश्वास व्यक्त गरे । नेपाली काँग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले सुशासन कायम गर्दै जनाकांक्षा बुझेर काम गर्न पदाधिकारीलाई सुझाव दिए । 

स्थानीय चौबीसकोठीमा भेला भएर सुरु भएको पदयात्रा नारायणगढको पुल्चोक पुगेको थियो । पदयात्रामा महानगरका सबै वडाबाट निर्वाचित प्रतिनिधिसहित काँग्रेस र माओवादी केन्द्रका नेता तथा कार्यकर्ता सहभागी थिए । रासस



नयाँ