arrow

मोबाइल बालेर दर्शकले हेरे नाटक

logo
प्रकाशित २०७२ पुष २५ शनिबार
abhaya-baral-and-prem-barsha.jpg.jpeg
काठमाडौं । नेपाली रंगमञ्च इतिहासमै सम्भवतः पहिलोपटक दर्शकहरुले आफ्नै मोबाइलबाट बत्ती बालेर नाटक हेरेका छन् । काठमाडौं मल, सुन्धारास्थित थिएटर मलमा मञ्चन भइरहेको नाटक ‘मान भर्सेज मती’को शुक्रबारको मञ्चनमा दर्शकहरुले यस्तो साथ र उत्साह दिएका हुन् । 

लोडसेडिङ समयमा जेनेरेटरबाट सञ्चालित काठमाडौं मलमा देशको पछिल्लो परिस्थितिका कारण प्रयाप्त डिजेल नहुँदा एक्कासी बत्ती जाँदा सातौं तल्लाको नाटकघर पनि अन्धकार बन्न पुगेको थियो । नाटकको कथा उत्कर्षमा पुगेको बेला नाटक नै रोकिने अवस्था आएपछि दर्शकहरुले स्वस्फूर्त रुपमा मोबाइलको टर्च बालेर नाटक हरेका हुन् । 

बत्ती नआउने पक्का भएपछि नाटकघरले दर्शकसँग माफी माग्दै नाटक रोक्नुपरेको र अरु कुनै दिन सोही टिकटमा नाटक हेर्न आउन अनुरोध गरेको थियो । तर दर्शकहरुले हामी मोवाइल बालेर साथ दिन्छौं भनेपछि नाटक सुचारु भएको थियो । चार्जेबल स्पिकरको जडान भएको कारण संगीत र ध्वनि भने नियमित नै थियो । 

दर्शकहरुको यस्तो साथ, समर्थन र उत्साहले कलाकारहरु भावुक बनेका थिए । नाटक सकेपछि नाटक टिमले दर्शकको यस साथलाई आभार व्यक्त गर्दै शिर निहुराएर र ताली बजाएर कृतज्ञता व्यक्त गरे । कलाकारहरुले भने, ‘यहाँहरुले थप गुन लगाउनुभयो, यहाँहरुलाई ध्न्यवाद अनि मोबाइलमा बत्ती राख्ने आइडियालाई पनि धन्यवाद ।’ दर्शकहरुले पनि उत्तिकै उत्साहसहित आभार व्यक्त गरे । 

रंगमञ्च इतिहासकै सम्भवतः पहिलो यस घटना पश्चात नाटकका लेखक तथा निर्देशक केदार श्रेष्ठले फेसबुक र ट्विटरमार्फत भनेका छन्, ‘‘हामीले हाँस्यव्यंग्यात्मक प्रस्तुतिमार्फत दर्शकहरुलाई हँसाइरहेको बेला, दर्शकको अपरम्पार साथले हामीलाई रुवाइदिएको छ । नेपाली रंगमञ्च दर्शककै कारण बाँचेको छ, हामी यहाँहरुप्रति सदैव कृतज्ञ छौं, जय दर्शक जय रंगमञ्च ।’

नाटकको मञ्चन अवधि लम्ब्याउँदै आउँदो माघ २ गतेसम्म नाटक मञ्चन हुने थिएटर मलका संयोजक सञ्जिता सञ्जीले जनाएकी छिन् । संयोजक सञ्जीका अनुसार यो नाटकको मञ्चन अवधि लम्बिएको छ । पुस १० गतेदेखि नियमित मञ्चन भइरहेको नाटकको मञ्चन अवधि एक साता लम्बिएको हो । अब माघ २ गते शनिबारसम्म मञ्चन हुनेछ ।  मध्यम वर्गको पारिवारिक कथामा बुनिएको हाँस्यव्यंग्यात्मक नाटक ‘मान भर्सेज मती’को लेखन, परिकल्पना तथा निर्देशन केदार श्रेष्ठले गरेका हुन् । 

सो नाटकले मञ्चनको पहिलो साता औसत दर्शक पाएपनि हाँस्य शैलीको प्रभावका कारण पछिल्लो साता दर्शकको आगमन उल्लेख्य रहेको संयोजक सञ्जीले बताइन् । उनले भनिन्, ‘शनिबारको दुबै शोको टिकट अग्रिम बुकिङ भइसकेकोले हेर्न चाहनुभएका दर्शकको माग अनुसार समय थपेका हौं ।’ 

सामान्य कथावस्तुलाई कलात्मक प्रस्तुति दिएका निर्देशक श्रेष्ठ भन्छन्, ‘यो हाम्रो घरभित्रकै कथा हो । यसलाई प्रस्तुतिमा पनि सरलीकृत गरेकोले सबै खालका दर्शकले सहजै बुझ्न सक्नुहुन्छ र एक किसिमको रमाइलो लिन सक्नुहुन्छ । त्यही भएर पनि दर्शकहरुले रुचाउनु भएको हुनसक्छ ।’

नाटकमा पछिल्लो समय रंगमञ्चसंगै फिल्म होस्टल रिटन्र्सबाट चर्चा कमाएका अभिनेता अभय बराल, प्रेमवर्षा खड्का, कुशल पाण्डे, सवीर चुरौटे, शारदा अधिकारी, रोजिना श्रेष्ठ र रोशन सुवेदीले अभिनय गरेका छन् । नाटक बुधबारबाहेक हरेक साँझ ४ः४५ बजे र शनिबार दिउँसो १ः०० बजे पनि मञ्चन हुनेछ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ