देउवाको गाउँपालिकाको बजेट २१ करोड, प्रत्येक वर्ष महोत्सव हुने
टेकराज अवस्थी,
प्रकाशित २०७४ साउन ३० सोमबार
1.1k
Shares
डडेल्धुरा । प्रधानमन्त्री शेरबहादुर देउवाले मतदान गरेको गन्यापधुरा गाउँपालिकाको पहिलो गाउँसभाले झण्डै २१ करोडको बजेट विनियोजन गरेको छ ।
गाउँपालिका उपाध्यक्ष कमला देवी ठगुन्नाले पेश गरेको झैण्डै २१ करोड रकम गाउँसभाले पारित गरको हो । “चारैतिर हरियाली हाम्रो गन्यापधुरा, चौतर्फी विकास गरौं सपना हुन्छ पूरा” भन्ने मूल ध्येयका साथ साविक अशिग्राम, गणेशपुर मष्ठमाण्डौं र कैलपालमाण्डौं गाविस जोडिएर बनेको गन्यापधुराको पहिलो गाउँसभामा प्रसिद्ध गणेशपुर बडालको चलो छलिया बाजा, हुडकेली नाँच, महिलाहरुको डेउडा, गन्यापधुरा देवताको गाथामा आधारित चैत तथा संस्कृतिको धरोहर गौरा पर्वमा गाईने महिलाहरुको धुमारी जस्ता स्थानीय सांस्कृतिक झलक प्रदर्शन भए ।
गाउँपालिका अध्यक्ष नबल बहादुर मल्लले गाउँपालिकाको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै संघीयता र स्थानीय सरकार मार्फत “गाउँको शासन गाउँबाटै गाउँको विकास गाउँलेबाटै” भन्ने सिद्धान्तलाई मूर्त रुप दिने जिम्मेवारी नवनिर्वाचत जनप्रतिनिधिको काँधमा आएकाले जनताले अपेक्षा गरेका आकांक्षा र विश्वासलाई हातेमालो गरेर अगाडी बढाउने बताए ।
उनले समृद्ध तथा नमूना गाउँपालिका बनाउने काममा जनताको सकारात्मक सहभागिता आवश्यक रहेको बताउँदै जनमुखी काम गर्न आफूहरु प्रतिबद्ध रहेको सुनाए । नीति तथा कार्यक्रममा गन्यापधुरा गाउँपालिकाका नागरिकलाई स्रोत साधनको उपयोगसहित अधिकार सम्पन्न गराउन एक गाउँ एक उत्पादन , कृषि , सिंचाई , उद्यम र उत्पादनशिल भूउपयोग प्रणाली, पर्यटन क्षेत्र विकासमा जोड दिइएको छ ।
यस्तै, वित्तिय तथा आर्थिक विकासका संभावना, शिक्षा, स्वास्थ्य, खेलकुद, युवा रोजगारी, खानेपानी, सडक यातायात, विद्युत, सञ्चार, सौर्यवत्ती, जैविक सम्पदाको संरक्षण तथा उपयोग, आन्तरिक आयश्रोतको पहिचान, लक्षित वर्ग कार्यक्रम प्रवद्र्धन, सामाजिक न्याय स्थापना, वातावरण, विपद व्यवस्थापन लगायत साविक विषयगत कार्यालयका क्रमागत कार्यक्रमको निरन्तरता, सामाजिक संरचना र पूर्वाधार विकासका मागमा आधारित विभिन्न योजना तथा कार्यक्रमलाई विशेष जोड दिईने बताईएको छ ।
गन्यापधुरा गाउँपालिकामा रहेका परम्परागत कला संस्कृति सभ्यताहरुको जगेर्ना गर्न संरक्षण, सम्बद्र्धन तथा पर्यटकिय क्षेत्रको पहिचानसहित प्रवद्र्धन र प्रसारका लागि प्रत्येक वर्ष गन्यापधुरा महोत्सवको आयोजना गरी यस क्षेत्रको जीवनशैली परिवर्तन र जनचेतना अभिवृद्धि गर्ने कार्यक्रमलाई प्रोत्साहन गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।