arrow

बेदकोट नगरपालिकाको बजेट ४५ करोड रुपैयाँ

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
Kanchanpur_District.png

कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिकाले चालू आवका लागि रु ४५ करोड बढी बजेट विनियोजन गरेको छ । 

बेदकोट नगरपालिकाको प्रथम नगर सभाबाट रु ४५ करोड ५५ लाख ४४ हजार बजेट विनियोजन गरिएको हो । 

नगर सभाबाट चालू आवको बजेटसहित नीति र कार्यक्रम सर्वसम्मतिले पारित गरिएका छन् । 

नगरपालिकाले विनियोजित बजेटमा संघीय सरकारको वित्तीय समानीकरणअन्तर्गत रु २५ करोड नौ लाख, संघीय सरकारको सशर्त अनुदान रु नौ करोड ९३ लाख र आन्तरिकबाट रु ८० लाख आम्दानी हुने अनुमान गरिएको छ । नगर सभाले सामाजिक सुरक्षाका लागि रु आठ करोड बजेट अनुमान गरेको छ । 

नगर सभाबाट रु १९ करोड १० लाख ६५ हजार पूँजीगत खर्च रु पाँच करोड ५० लाख चालू खर्च पारित गरिएको छ । वडाबाट आएका योजनाका लागि रु तीन करोड २० लाख बजेट विनियोजन गरिएको छ । 

नगर कार्यपालिकाको पहिलो बैठकबाट निर्णय गरिएको अव्यवस्थित बसोबासीलाई जग्गाधनी पूर्जा दिलाउने प्रक्रियाका लागिसमेत रु सात लाख बजेट विनियोजन गरिएको छ । 

बेदकोटमा सबै वडालाई रु ३२–३२ लाख बजेट विनियोजन गरिएको छ । बेदकोटका प्रमुख अशोककुमार चन्दले वडामा भौतिक पूर्वाधार, स्वास्थ्य चौकी, शिक्षाका लागि वडालाई रु ३२ लाखका दरले बजेट विनियोजन गरिएको बताए । 

प्रमुख चन्दले सामाजिक सुरक्षा, कृषि, वन, स्वास्थ्य, महिला तथा बालबालिका, म्याचिङ फण्ड, विपन्न समुदाय उत्थान, ग्राभेलिङ, सांस्कृतिक क्षेत्र विकास, छाडा पशु चौपाया नियन्त्रणलगायतका कार्यक्रममा बजेट विनियोजन गरिएको बताए । 

कार्यक्रममा प्रमुख चन्दले नीति तथा कार्यक्रम र उपप्रमुखले चालू आवको बजेट प्रस्तुत गरेका थिए । 

नगरपालिकाले आर्थिक समृद्धि र विकासका लागि ‘एक घर एक सीप, रोजगारीको आधारः समृद्ध बेदकोट नगर समाजवादको पूर्वाधार’ नीति कार्यान्वयन गरिने लक्ष्य लिएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ