arrow

जापानका एक दर्जन संघसंस्थाबाट बाढी पहिरोपीडितलाई सहयोग

logo
प्रकाशित २०७४ साउन ३१ मंगलबार
tokyo-japan.jpg.jpeg

टोकियो । लगातारको वर्षात्का कारण बाढी र पहिरोबाट घरबार गुमाएर बिचल्लीमा परेका तराईका बासिन्दालाई राहत दिलाउन जापानका एक दर्जन सङ्घसंस्था सक्रिय भएका छन् । 

लगातारको वर्षात्पछि आएको बाढीका कारण दर्जनौँ व्यक्तिको मृत्यु र दर्जनौँ बेपत्ता तथा घरबार गुमाएका पीडितलाई राहत दिलाउने अभियानमा गैरआवासीय नेपाली सङ्घको क्षेत्रीय समितिसहितका सङ्घसंस्था सक्रिय भएका हुन् । 

गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) जापानको कान्तो क्षेत्रीय समितिले आइतबार दिनभर सदस्यहरुबाट संकलन गरेको दुई लाख ३१ हजार १५३ जापानी येन सोमबार नेपाल पठाएको छ । 

सङ्घका कान्तो संयोजक नवीन निउरेका अनुसार धुर्मुस–सुन्तलीले शुरु गरेको ‘विपत्मा सबै नेपाली जुटौँ, अनिवार्य मानवता र सद्भावका लागि सहकार्य’ भन्ने अभियानमार्फत पीडितलाई संकलित राहत रकम पठाइएको हो । 

राहत संकलनका लागि गैरआवासीय नेपाली सङ्घ गुम्मा क्षेत्रको आपत्कालीन बैठक बसिरहेको छ । गुम्माको ओइजुमी सहरमा बसेको बैठकमा पीडितलाई तत्काल राहत दिलाउनेबारे छलफल भइरहेको बैठकमा सहभागी नीरज गुरुङले जानकारी दिए । 

त्यस्तै, संसारभर रकम पठाउने कारोबार गर्दै आएको सिटी मनी एक्सप्रेस ट्रान्सफर र नेपाली विद्यार्थी समाज, जापानले पनि पीडितका लागि राहत संकलन कार्यलाई तीव्रता दिएका छन् । 

राहत अभियानमा सहयोग गर्ने भन्दै सिटीगु्रपले एक लाख जापानी येन र सिटी मनि एक्सप्रेस ट्राभलका तर्फबाट कार्यरत कर्मचारीले छुट्टाछुट्टैरुपमा ५० हजार जापानी येन छुट्याएका छन् । 

यसैगरी, नेकपा (एमाले) निकट प्रवासी नेपाली मञ्चले बाढीपीडितका लागि राहत संकलन अभियान चलाएका छन् । 

मञ्चका सुजन पन्तले एउटा नेपालीलाई समस्या पर्दा विदेशमा रहेका नेपाली टुलुटुलु हेरेर बस्न नसक्ने भन्दै पीडितलाई तत्काल राहत दिलाउने गरी नगद तथा जिन्सी संकलन कार्यलाई तीव्रता दिएको बताए । 

चितवन समाज, जापानले पनि पीडितका लागि राहत संकलन कार्य थालेको जनाएको छ । समाजका अध्यक्ष राजनकुमार श्रेष्ठले पीडितलाई थोरै भएपनि मलम लगाउनमात्र पुगे पनि राहत हुने भन्दै समाजका सबै कार्यसमिति सदस्य र जापानवासी नेपालीलाई राहत संकलन अभियानमा सहकार्य गर्न लागेको बताए । 

यसैगरी, गल्कोट समाज, जापानले बाढीपीडितलाई सघाउन भन्दै तीजमा उठेको सम्पूर्ण रकम प्रदान गरिने जनाएको छ । पीडितलाई राहत दिलाउने भन्दै भदौ ७ का दिन कामाताको इकेगामी खाइकानमा हरितालिका तीज आयोजना गरेको समाजले मनोरञ्जनका लागि आउने महिला तथा पुरुषबाट उठेको रकम पीडितलाई बुझाउने भएको हो । 

पीडितलाई राहत दिलाउने भन्दै पूर्वी नेपाल विकास सहकार्य केन्द्रले जापानभर चारदिने अभियान चलाएको छ । रोजगार अध्ययन तथा व्यावसायिक उद्देश्यले पूर्वी नेपालका १४ जिल्लाबाट जापान आएकाहरुले खोलेको यो केन्द्रका दुई हजारभन्दा बढी सदस्य रहेका छन् । 

त्यस्तै, नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाली जनसम्पर्क समिति, जापानले एक विज्ञप्तिमार्फत प्रजातन्त्रवादी सम्पूर्ण नेपालीलाई बाढीपीडितलाई राहत दिलाउने अभियानमा सहकार्यका लागि अनुरोध गरेको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ