arrow

चुनाव गराउन निर्वाचन आयोग सक्षम छ : आयुक्त पौडेल

logo
प्रकाशित २०७४ भदौ ५ सोमबार
election-local-2017.jpg

वीरगञ्ज। निर्वाचन आयोगका आयुक्त ईश्वरीप्रसाद पौडेलले नेपाल सरकारले असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचन गराउने मिति तोकेकाले आयोग सो दिन निर्वाचन गराउन सक्षम रहेको बताएका छन् ।  

प्रदेश नं २ को व्यापारिक नगरी वीरगञ्जमा मंगलबार आयोजित अन्तक्रियामा बोल्दै आयुक्त पौडेलले संवैधानिक आयोगका रुपमा रहेको निर्वाचन आयोगले असोज २ गते स्थानीय तहको निर्वाचन असम्भव रहेको भनेर हामीले असन्तुष्टि व्यक्त गरे पनि सरकारमा रहेका राजनीतिक दलले तोकिएकै मितिमा निर्वाचन गर्नुपर्ने अडान लिएपछि निर्वाचन गराउन आयोग सक्रिय भएको छ भने।

आयुक्त पौडेलले राजनीतिक दलका प्रतिनिधिले नै निर्वाचन आचारसंहिता बनाएको र उनीहरु नै आचारसंहिता उल्लंघन गर्छन् भने त्यस्ता दलका उम्मेदवारलाई भोट नदिन मतदाताहरुसँग आग्रह गरे।

उनले तोकिएकै समयमा स्थानीय तह, प्रदेश र संसदीय चुनाव गरिएन भने वर्तमान संविधान काम नलग्ने उल्लेख गर्दै विभिन्न भाषामा मतदाता शिक्षालाई प्रभावकारीरुपमा अघि बढाएको बताए ।

उनले मत बदर नहोस् भनेर हामीले मतदाता शिक्षामा जोड दिएको बताउँदै असोज २ गते विश्वकर्मा पूजा भएकाले निर्वाचन नगर्न सरकारलाई आग्रह गर्दा राजनीतिक दलले नमानेकाले सो दिन निर्वाचन हुने बताएका छन् ।  

यसैगरी निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले नेपाल सरकारको निर्णयअनुसार प्रदेश नं २ मा नयाँ संरचनाअनुसार मतदाता नामावली तयार भइरहेको बताउँदै मतदाता नामावली बनाउने, मतपत्र छापिने र मतदानस्थल, केन्द्र निर्धारण गर्ने काम भइरहेको बताए  ।

कुनै पनि मतदाता कसैको डर, त्रास, लोभ लालचमा नपरेर आफ्नो मताधिकारको प्रयोग गर्न मतदातालाई आग्रह गर्दै प्रवक्ता शर्माले भयरहित वातावरणमा मतदान गर्न आग्रह गरे।

जिल्ला निर्वाचन कार्यालय पर्साका निर्वाचन अधिकारी हुमनाथ पराजुलीको सभापतित्वमा भएको सो अन्तरक्रियामा पुर्षोत्तमलाल झा, अनिल तिवारी, शंकर चौरसिया, रामबाबु यादव, अच्छेलाल साह, प्रेमबाबु पटेल, ध्रुव अधिकारी, प्रेमशंकर सिंहलगायतका राजनीतिक दलका नेता तथा सञ्चारकर्मीले राहतको नाम बाढीपीडितलाई प्रभाव पार्ने गरी राहत वितरण गरेकाले आचारसंहिताको उल्लंघन भएको, बाढीका कारण बाटोघाटोको अवस्था दयनीय रहेकाले मतदान स्थलसम्म जान मतदातालाई समस्या पर्ने, मतदाता शिक्षामा जोड दिनुपर्नेजस्ता सुझाव दिएका थिए । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ