arrow

कास्कीमा ३९ हजार मतदाता थपिए

logo
प्रकाशित २०७४ भदौ ६ मंगलबार
Kaski_District.png

पोखरा । क्षेत्रीय निर्वाचन कार्यालय पोखराले गत साउन १ देखि भदौ ३ गतेसम्म सञ्चालन गरेको तस्बिरसहितको मतदाता नामावलीमा ३९ हजार ४०१ जनाले नाम दर्ता गराएका छन् ।

 आगामी मंसिर १० गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनलाई ध्यानमा राखी सञ्चालन गरिएको सो मतदाता नामावली थप अभियानमा २० हजार ३५९ महिला र १९ हजार ४२ पुरुषले नाम दर्ता गराएको क्षेत्रीय निर्वाचन अधिकारी गंगालाल सुवेदीले बताए ।

कास्की जिल्ला अन्तर्गत पोखरा लेखनाथ महानगरपालिकाका ३३ वटा वडामा १३ हजार १०० महिला र ११ हजार १५५ पुरुष, अन्नपूर्णमा दुई हजार ३७२, माछापुच्छ्रेमा एक हजार ८६०, मादीमा दुई हजार ६३८ र रुपामा एक हजार १५० जनाले नाम दर्ता गराएका छन् ।

मुलुकका ७३ जिल्लाबाट पोखरामा आई विभिन्न पेशा र व्यवसाय गरेका सात हजार १२६ जनाले पनि नाम दर्ता गराएका छन् । अन्य जिल्लाका तीन हजार ३७७ महिला र तीन हजार ७४९ पुरुषको नामावली सम्बन्धित जिल्लाको मतदाता नामावलीमा समावेश गर्ने गरी पठाइने क्षेत्रीय निर्वाचन कार्यालय पोखराले जनाएको छ । अन्य जिल्लामध्ये सबैभन्दा बढी स्याङ्जाका एक हजार ८३९, पर्वतका ८८९, धादिङका ६१९, लमजुङका ५१७ र तनहुँका ४३९ जनाले नाम दर्ता गराएको बताइएको छ ।

गत असार महिनासम्म कास्कीको मतदाता संख्या दुई लाख २४ हजार ८११ थियो । मृत्यु भएका, ठाउँ सार्न चाहेका, दुई ठाउँमा नामावली भएका र त्रुटि सच्याई जिल्लाको एकीकृत नामावली निकाल्ने काम भइरहेको छ । रासस

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ