arrow

खेलकुदमन्त्री केसीले प्रभाव देखाउन थाले, एन्फा टेक्निकल सेन्टरको स्तरोन्नती गरिँदै

२ सय दर्शक क्षमताको प्यारपिट १० हजार दर्शक क्षमताको बनाइने

logo
प्रकाशित २०७४ भदौ ७ बुधबार
mantri_sports.jpg

काठमाडौें । राष्ट्रिय खेलकुद परिषद् राखेपले ललितपुरको च्यासलमा रहेको एन्फा टेक्निकल सेन्टरको स्तरोन्नती गर्ने गरेको छ । राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री राजेन्द्रकुमार केसीले बुधबार सेन्टरको शिलान्यास गरे । केसी आएपछि खेलकुदका लागि आवश्यक थुप्रै पूर्वाधारका काम अघि बढेका छन् ।

अन्य सुविधासहित अहिलेलाई पूर्व र दक्षिणपट्टी १ हजार २ सय दर्शक क्षमताको प्यारपिटलाई १० हजार दर्शक क्षमताको बनाइन लागिएको छ । पूर्व र दक्षिणपट्टी समेत थप दर्शक बस्न मिल्ने गरी थप पूर्वाधार निर्माण गरिनेछ भने पश्चिमपट्टी नयाँ पूर्वाधार थपिने छ । अहिले खाली रहेको उत्तर दिशा भने खाली नै राखिने भएको छ ।

स्तरोन्नतीका लागि ३३ करोड ५० लाख रुपैयाँ खर्च हुने राखेप सदस्य–सचिव केशवकुमार विष्टले जानकारी दिए । २०१९ को फेब्रुअरी अन्तिमसम्ममा निर्माण कार्य सम्पन्न गर्ने गरी डाँफे कन्स्ट्रक्सन कम्पनी, प्रेरा निर्माण सेवा र प्रतिष्ठा कन्स्ट्रक्सन प्रालिले निर्माणको जिम्मेवारी पाएको छ ।

शिलान्यासपछि मन्त्री केसीले सेन्टरको स्तरबृद्धि सबैका लागि खुशीको कुरा भएको बताउँदै अझ त्यसले विशेष गरी फुटबलकर्मी र खेलाडी बढी खुशी दिने धारणा राखे । उनले १३औं साग आयोजनाको प्रतिष्ठालाई जोगाउन सेन्टरको निर्माण कार्य समयमा सम्पन्न गर्नु पर्नेमा जोड दिँदै गुणस्तरमा पनि विशेष ध्यान दिनु पर्ने आवश्यकता औँल्याए ।

मन्त्री केसीले भने, ‘मन्त्री आउछन् शिलान्यास गर्छन र जान्छन् । काम पूरा हुन वर्षौं लाग्छ’ भन्ने पराम्परालाई तोड्न निर्माण कार्यले समयमै पूर्णता पाउनु पर्छ ।’

सदस्य–सचिव विष्टले १३औं सागलाई लक्षित गरी सेन्टरको स्तरोन्नती गर्न लागिएको बताउदै बिहीबारदेखि नै निर्माण कार्यले गति लिने बताए । उनले टर्फ नराखी हक्की खेल्न सहभागी राष्ट्र सहमत भएको खण्डमा सेन्टरमा हक्की खेलाउन प्रस्ताव गरिएको जानकारी दिए ।

‘हक्कीमा सहभागी हुने राष्ट्रहरुले बिना टर्फ मै हक्की खेल्ने सहमति जनाए भने हामीले यो पूर्वाधारलाई हक्की खेलाउन प्रस्ताव गरेका छौं, सदस्य–सचिव विष्टले भने– ‘हक्कीको छुट्टै पूर्वाधार निर्माण गर्न ठूलो खर्च लाग्छ । यदि सरकार त्यसमा सहमत भए झन राम्रो हुन्छ ।’

अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष नरेन्द्रमान श्रेष्ठले फुटबलका लागि ऐतिहासिक दिन भएको बताउँदै सेन्टरको स्तरबृद्धिले फुटबलको विकासमा थप टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले निर्माण कार्य सम्पन्न गर्न सम्बन्धित निकायलाई विशेष पहल गर्न आग्रह गरे । श्रेष्ठले सेन्टरमा एस्ट्रो टर्फ र फ्लडलाइट राख्नका लागि फिफाबाट स्वीकृति प्राप्त भइसकेको जानकारी गराउदै त्यसका लागि अगष्ट ३१ मा नेपाल आउने फिफाका प्रतिनिधिसंग विस्तृत छलफल हुने बताए ।



नयाँ