arrow

सनातन धर्मसत्ता, राज्यविहीन समाज र राज्यको आवश्यकता  

logo
डा प्रकाश ढकाल,
प्रकाशित २०७४ भदौ १० शनिबार
bikramaditya_kahani.JPG

काठमाडौं । प्राचीन वैदिक राजनीतिक चिन्तनमा सामाजिक व्यवस्थाको सञ्चालन राजा र राज्यबिना नै सम्भव भएको कुरा उल्लेख भएको पाइन्छ । राजा र राज्यविहीन समाज सामाजिक विकासको प्रारम्भिक अवस्था थियो । प्राचीनकालमा धर्मका आधारमा समाज व्यवस्था सञ्चालित थियो । त्यस समाजमा सबैले आ–आफ्नो धर्म वा कर्तव्य पालन गर्दथे । सबै प्रजा धर्मनिष्ठ भएको प्राचीन समाजमा धर्मसत्ता थियो । धर्मसत्ता भन्नाले धर्मको अनुशासनमा चलेको समाज व्यवस्था हो । धर्मका आधारमा कुनै व्यक्ति विशेषको वा संस्थाको शासनलाई धर्मसत्ता भनिएको होइन । राज्यविहीन धर्मसत्ता रहेको प्राचीन समाज साम्यवादीहरुले कल्पना गरेको राज्यविहीन र वर्गविहीन समाजसँग मिल्दोजुल्दो थियो । 

पाश्चात्य राजनीतिक चिन्तनमा अराजकतावाद र माक्र्सवादको जन्म हुनुभन्दा हजारौँ वर्ष पहिले नै पूर्वीय राजनीतिक चिन्तनमा राज्यविहीन र वर्गविहीन समाजको चिन्तन भएको थियो । हिन्दु परम्परामा सत्य वा कृत, त्रेता,द्वापर, र कलि चार युग छन् । सत्ययुगमा सबै प्रजा धर्मनिष्ठ तथा परम् विवेक, ज्ञान र संयम सम्पन्न थिए । सत्ययुगको प्रारम्भमा संसारमा कुनै राज्य थिएन । राजा पनि थिएन । न दण्ड व्यवस्था थियो न कुनै दण्डाधिकारी वा दण्ड गर्ने व्यक्ति नै थियो । सबै प्रजाहरुले सनातन धर्मद्वारा परस्पर एक अर्काको रक्षा गर्दथे । 

दण्डनीति र राज्यको प्रादुर्भाव हुनुभन्दा पहिले धर्मको शासन थियो ।  त्यो आदर्श समाजमा सनातन धर्मको प्रमुख भूमिका थियो । वैदिक सनातन धर्म त्यस समाजको जीवनपद्धति थियो । सनातन धर्मले मानिसलाई कर्तव्य पालन गर्न प्रेरित गर्दथ्यो । सबैले सनातन धर्म अनुसार आचार र व्यवहार गर्ने हुँदा कसैले पनि अरुको अधिकार माथि हस्तक्षेप गर्दैनथे । त्यस समाजमा शान्ति सद्भाव र पारस्परिक सहयोगको भावना थियो । समाजमा न्याय र भ्रातृत्वको भावना थियो । धर्मको ज्ञान र त्यसको पालनबाट समाज स्वतः सञ्चालित थियो । समाजमा कुनै अपराध हुँदैनथ्यो । त्यसै हुनाले त्यहाँ दण्ड आवश्यक थिएन । शान्ति सुव्यवस्था कायम गर्न प्रहरी, सेना र न्यायालयको पनि आवश्यकता थिएन ।

प्रारम्भिक सत्ययुगीन समाज स्वनियन्त्रित तथा स्वचालित थियो । सामाजिक जीवनका आदर्श नियमहरुको पालन निर्विरोध हुन्थ्यो । सामाजिकताको आधार पारस्परिक शान्तिपूर्ण व्यवहार थियो । नैतिकताका नियमहरु समाजको कार्यप्रणालीका सञ्चालक थिए ।  

राज्यविहीन समाजको आधार 
हिन्दुहरुको राज्यविहीन समाजको आधार मानिसको स्वभाव हो । मानिसहरुमा सत्वगुण प्रधान भएका कारणले राज्यविहीन समाज सम्भव भएको थियो । सत्य, सद्भाव, पारस्परिक सहयोग, सहअस्तित्व जस्ता असल गुणको मानिसमा प्रधानता थियो । असल सामाजिक जीवनको शिक्षा मानिसहरुलाई थियो । सत्य, अहिंसा र पारस्परिक सहयोग समाजमा त्यस बेला सम्भव हुनुमा सद्गुणको प्रधानता मुख्य छ । सत्वगुणका कारणले मानिसको आचार एवं व्यवहार सत्यमा आधारित भएको हुँदा राज्य र सरकारबिना नै समाज शान्त,सुखी र सम्पन्न भएको हो । मानिस असल सामाजिक गुण सम्पन्न प्राणी हो । हिन्दु राजनीतिक चिन्तनमा राज्यविहीन र वर्गविहीन समाजको आधार मानिसको असल स्वभाव नै मानिएको छ । 

केही आधुनिक राजनीतिक दर्शनमा राज्यलाई अवाञ्छित संस्था मानिन्छ । माक्र्सवादमा पनि वर्गविहीन र राज्यविहीन समाजको कल्पना गरिएको छ । माक्र्सवादीहरुले क्रान्तिद्वारा सर्वहाराको तानाशाही व्यवस्थाको स्थापना पछि राज्य समाप्त हुने कल्पना गरेका छन् ।  प्राचीन हिन्दुहरुको राज्यविहीन समाज व्यवस्थासँग मेल खाने गरी सामाजिक भारतीय विचारक महात्मा गान्धीले पनि राज्यविहीन समाजलाई आदर्श मानेका छन् । माक्र्सवादी र अराजकतावादीहरुले धर्मको विरोध गर्दछन् तर महात्मा गान्धी भने मानिसमा सत्वगुणको विकास गर्ने र समतामूलक समाजको निर्माण गर्ने पक्षमा छन् ।  व्यक्तिगत स्वतन्त्रताका निम्ति राज्य बाधक हुन्छ भन्ने उनको विचार छ । उनी धर्म र व्यक्तिगत सम्पत्तिको अन्त्यको पक्षमा छैनन् । सत्य र अहिंसाका आधारमा मात्र एउटा आदर्श समाजको निर्माण गर्न सकिन्छ भन्ने गान्धीको विचार छ । मानिको स्वभावमा परिवर्तन नगरी वर्तमान समाजमा राज्यविहिन समाज निर्माण गर्न सम्भव छ्रैन भन्ने विषयमा हिन्दु चिन्तकहरु सहमत छन् । यसबाट वर्तमान विश्वमा राज्यविहीन समाज निर्माण गर्न असम्भव छ । 

राज्यको आवश्यकता 
हिन्दुहरुले सत्व, रज र तम गरी मानिसको स्वभाव वा गुण तीन प्रकारका मानेका छन् । कालक्रमले मानिसमा सत्वगुण ह्रास हुँदै गयो । सनातन धर्मको ह्रास हुँदै गयो । त्यसबाट अधर्म बढ्न गयो । अधर्म बढेपछि समाजमा मत्स्यन्यायको सिर्जना भयो । मत्स्यन्यायको स्थिति मानव समाजको प्राकृतिक स्थिति होइन । यो सामाजिक विकृतिको अवस्था हो । यही विकृति समाप्त पार्नका निम्ति राज्य र राजाको निर्माण भएको हो । समाजमा अव्यवस्था सृजना भए पश्चात्  सनातन ज्ञानको लोप भएर जताततै त्रासको स्थिति भयो । त्रसित देवताहरु व्रह्मको शरणमा गएर प्रार्थना गरे । त्यसपछि ब्रह्माले दण्ड नीति अर्थात् नीति शास्त्रको रचना गरे । यसै नीतिशास्त्र अनुसार राज्यसंस्था राजाआदिको उत्पत्ति भयो । राज्य र राजा त्यसै नीतिशास्त्रका अधिनमा हुन्छन् ।  

निष्कर्ष
समानता, स्वतन्त्रता तथा भ्रातृत्वमा आधारित राज्य विहिन एवं वर्गविहिन समाजको कल्पना सर्वप्रथम प्राचीन हिन्दु राजनीतिक चिन्तनमा उल्लेख भएको पाइन्छ । सत्ययुगी मानिसमा सत्वगुणको प्रधानता भएको हुँदा राजा र राज्य विना नै सामाजिक व्यवस्था सनातन धर्मका आधारमा सञ्चालन भएको थियो । मानिसको सत्गुण, असल आचार र सद्व्यवहारका आधारमा सामाजिक व्यवस्था सञ्चालित थियो । मानिसको स्वभाव वा गुणमा परिवर्तन भएपछि त्यो समाज चल्न सकेन । त्यसपछि राजा र राज्यको आवश्यकता प¥यो ।आधुनिक युगमा राज्यविहिन समाजको निर्माण गर्ने माक्र्सवादीका साथै गान्धीको विचार पनि मानव स्वभावसँग मेल खाँदैन । यो केवल दार्शनिक चिन्तन मात्र हो ।  प्राचीन हिन्दू चिन्तनमा रहेको राज्यविहीन आदर्श समाज वर्तमान समयमा व्यवहारमा सम्भव नभए तापनि दार्शनिक चिन्तनका रुपमा रहिरहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ