जितेन्द्र भण्डारी,पाँचथर।पछिल्लो समय जिल्ला प्रहरी कार्यालय पाँचथरले अभियानकै रुपमा अदालतबाट फैसला भई फरार भएका अभियुक्तहरु धमाधम पक्राउ गर्न थालेको छ । अदालत बाट फैसला भएका फरार अभियुक्तहरु पक्राउ गर्न थालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । आर्थिक वर्ष ०७२/०७३ को साउन देखि पुस सम्मको ६ महिनाको अवधिमा मात्रै ५६ जना फरार अभियुक्तहरु पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरिक्षक कृष्ण प्रसाद कोइरालाले जानकारी दिनुभयो । उहाँले भन्नुभयो,“ अदालतको फैसला कार्यान्वयन गर्ने जिम्मेवारीलाई प्रहरीले आत्मसाथ गर्दे गत साउन देखि अहिलेसम्म ५६ जना अभियुक्तहरुलाई पक्राउ गरेका हौ ।”
उहाँका अनुसार अदालतको फैसला कार्यान्वयन गर्दे वि.स. २०४० साल अघिका फैसला शून्यमा झार्ने उदेश्यले अहिले प्रहरीले ती अभियुक्तहरुलाई पक्राउ गर्न थालेको छ । ३ दिन देखि ५ वर्ष सम्म कैद भुक्तान गर्नुपर्ने तथा जरिवाना वुझाउनुपर्ने अभियुक्तहरुलाई समेत प्रहरीले नियन्त्रणमा लिन थालेको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
४ वर्ष अघि देखि फरार अभियुक्तहरु पक्राउ गर्ने अभियानै संचालन गरेर प्रहरीले ती फरार अभियुक्तहरु पक्राउ गर्न थालेको हो ।
आर्थिक वर्ष ०७१/७२ मा सम्ममा १ सय ७ जना अभियुक्तहरु पक्राउ गरेको थियो । अहिले जिल्ला अदालत पाँचथरले फेरि ४ सय ३८ फरार अभियुक्तहरुको सूची सार्वजनिक गरी प्रहरीलाई फैसला कार्यान्वयन गराउन भनेको छ । गत विहिबार मात्रै पाँचथर फिदिम नगरपालिका वडा नम्बर १० का गंगाराम मुखियालाई ११ वर्षपछि प्रहरीले पक्राउ गरी २ वर्ष जेल चलान गरिसकेको छ ।