सिमेन्ट उद्योगमा हालसम्मकै ठूलो लगानी, चिनियाँ कम्पनीले ३६ अर्ब लगानी गर्ने
रमेश लम्साल,
प्रकाशित २०७४ भदौ १८ आइतबार
205
Shares
काठमाडौँ। मुलुकमा हालसम्मकै ठूलो वैदेशिक लगानी भित्रने भएको छ । लगानी बोर्ड र होङ्सी शिवम् सिमेन्ट प्रालिबीच एक ठूलो सिमेन्ट कारखाना स्थापनाका लागि आज परियोजना लगानी सम्झौता भएपछि ठूलो परिमाणको लगानी भित्रने भएको हो ।
सम्झौताअनुसार रु ३६ अर्ब ७५ करोड बराबरको चिनियाँ लगानी मुलुक भित्रिएको लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारीले बताउनुभयो । परियोजना लगानी सम्झौतामा बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारी र कम्पनीका तर्फबाट निर्देशक लाइ वेईपेङले हस्ताक्षर गरे । हस्ताक्षर समारोहमा अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की र नेपालका लागि चिनियाँ राजदूत यू होङको उपस्थिति थियो ।
परियोजना लगानी सम्झौता नेपाल सरकार र कम्पनीबीचको करार हो । सम्झौतामा दुवै पक्षका अधिकार र दायित्वलाई स्पष्ट पारिएको जानकारी दिँदै प्रमुख कार्यकारी अधिकृत अधिकारीले लगानीको सुरक्षाको प्रत्याभूति गरिएको उल्लेख गरे । सम्झौताअनुसार कम्पनीले नवलपरासीमा कारखाना स्थापना गर्नेछ । कारखानाको लागि आवश्यक खानी पाल्पाको ज्यामिरेमा रहेको छ । आयोजनामा नेपालको शिवम् होल्डिङ समूहको लगानी रहेको छ । कम्पनीले सन् २०१८ भित्र उत्पादन सुरु गर्नेछ । शुरुमा दैनिक ६ हजार टन क्षमताको हुने सो उद्योगको उत्पादन वृद्धि गरी दैनिक १२ हजार टन पु¥याउने लक्ष्य रहेको छ ।
आयोजनाका लागि तत्काल नेपाल विद्युत् प्राधिकरणले दुई मेगावाट विद्युत् उपलब्ध गराएको छ । कारखानाका लागि करिब १२ मेगावाट विद्युत् जरुरी रहेको छ । परियोजनामा चिनियाँ कम्पनीको ७० प्रतिशत र नेपाली साझेदारको ३० प्रतिशत लगानी रहनेछ । नेपालमा नै गुणस्तरीय सिमेन्ट उत्पादन गर्ने र सिमेन्ट उद्योगमा पूर्णरुपमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ कारखाना स्थापना गर्न लागिएको हो ।
हस्ताक्षर कार्यक्रममा अर्थमन्त्री कार्कीले लगानी सम्झौताबाट नेपालको व्यावसायिक वातावरणबारे सकारात्मक सन्देश सम्प्रेषण भएको बताउनुभयो । उनले परियोजना कार्यान्वयनका क्रममा नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग समयमै उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे ।
‘परियोजना कार्यान्वयनका लागि सरकारका तर्फबाट आवश्यक सहयोग र सहजीकरणको सुनिश्चितता दिलाउन चाहन्छु’ अर्थमन्त्री कार्कीले भने। उनले बजेटमा व्यक्त भएअनुसार आवश्यक पूर्वाधार तथा अन्य सुविधा सरकारले उपलब्ध गराउने उल्लेख गर्दै सम्झौतालाई अन्तिमरुप दिने क्रममा बोर्ड कार्यालय र सम्वद्ध मन्त्रालय तथा सरकारी निकायका तर्फबाट भएका प्रयासको प्रसंशासमेत गरे।
बोर्डका प्रमुख कार्यकारी अधिकृत अधिकारीले यस सम्झौताले विदेशी लगानीकर्तालाई नेपाल वास्तवमै आकर्षक गन्तव्य बन्दै गइरहेको भन्ने प्रमाणित भएको बताए। सम्झौतासँगै नेपालमा विश्वस्त भएर लगानी गर्ने र नेपालको आर्थिक समृद्धिको यात्रामा साझेदार बन्न विदेशी कम्पनीका लागि नेपालमा लगानीको अनन्त अवसर सिर्जना भएको उहाँको कथन थियो ।
परियोजनाको कार्यान्वयन सहजीकरण गर्न बोर्डले आवश्यक समन्वय गर्ने विश्वास दिलाए । होङसी शिवम् प्रालिका निर्देशक लाइ वेईपेङले परियोजनालाई हालको अवस्थामा ल्याउनका लागि बोर्डले खेलेको भूमिकाका लागि प्रशंसासहित धन्यवाद दिए ।
यो सम्झौता साकार पार्न बोर्डको भूमिका निकै महत्वपूर्ण रह्यो, नेपालमा लगानीको वातावरणसम्बन्धी हाम्रै अनुभवले पनि विदेशी लगानी भित्र्याउन लगानीकर्तामा सकारात्मक सन्देश प्रवाह गर्न सहयोग पुग्ने उनको कथन थियो ।
निजी क्षेत्रमा नै पहिलो पटक भएको यस खालको सम्झौताले अन्य साझेदारी लगानीको समेत अभिवृद्धि गर्ने सो अवसरमा जानकारी दिइयो । हङकङको रेड लायन शिवम् सिमेन्टसँग मिलेर होङसी शिवम् सिमेन्ट प्रालि स्थापना गरेको हो । लगानी बोर्डले अगाडि बढाएका केही ठूला परियोजनामध्ये जलविद्युत् आयोजनापछि यो नै ठूलो र महत्वपूर्ण हो । रासस