arrow

 नयाँ उद्योगमा एक अर्ब तीन करोड लगानी प्रस्ताव

logo
प्रकाशित २०७४ भदौ २० मंगलबार
kailali-district.png

धनगढी । कैलालीमा आर्थिक वर्ष २०७३-७४ मा दर्ता भएका नयाँ उद्योगमा  एक अर्ब तीन करोड लगानीको प्रस्ताव गरिएको छ । 

घरेलु तथा साना उद्योग कार्यालयका अनुसार गत आवमा नयाँ दर्ता भएका ८९० वटा उद्योगको चालु पूँजी  ३४ करोड २० लाख र स्थिर पूँजी  ६८ करोड ८० लाख रहेको छ । 

सो अवधिमा प्राइभेट फर्म ६७५, साझेदारी फर्म ४२, प्रालि २० र लघु उद्योग १५३ वटा दर्ता भएकामा प्रकृतिको आधारमा सेवामूलक ३४७, उत्पादनमूलक १६४, कृषिसम्बन्धी २२४, पर्यटनका दुई र लघु १५३ उद्योग दर्ता भएको कार्यालयका प्रमुख दिलीप चन्दले जानकारी दिए । 

उद्योगबाट ५८७ महिला र पाँच हजार १७ पुरुषले रोजगारी पाएका छन् । ती उद्योगको वार्षिक उत्पादन क्षमता  छ अर्ब ५९ करोड बराबर रहेको प्रस्ताव गरिएको छ । कार्यालयले सो आवमा यी सबै कामबापत रु ९२ लाख ८२ हजार ८२३ राजस्व संकलन गरेको छ । 

कार्यालय स्थापना भएदेखि हालसम्म जम्मा पाँच हजार ४७४ वटा उद्योग दर्ता भएका छन् । आव २०७२-७३ मा ७३६ वटा उद्योग दर्ता भएका थिए । वर्षेनी घरेलु तथा साना उद्योग दर्ता हुने गरेको भए पनि दर्ता भएका उद्योग सञ्चालन भए-नभएको बारे यकिन तथ्यांक कार्यालयसँग छैन । 

“दर्ता भएकामध्ये ६० प्रतिशत उद्योग सञ्चालनमा रहेका अनुमान गरेका छौँ,” चन्दले भने– “अनुगमन निरीक्षण गर्नै पर्ने उद्योगको हकमा अनुगमन गर्ने गरिएकोमा जनशक्तिको अभावमा सबै उद्योगको निरीक्षण अनुगमन गर्न सकिएको छैन ।” 

स्थानीय तहको निर्वाचन सम्पन्न भएलगत्तै घरेलु तथा साना उद्योग कार्यालयलाई धनगढी उपमहानगरपालिका मातहतको उद्योग विकास शाखाको रुपमा कायम गरिएको भए पनि यस वर्ष कार्यालयले जिल्लाभरिको काम गर्ने सो कार्यालयले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ