arrow

विश्वविद्यालयमा क्षमताका आधारमा नियुक्ति हुन्छ : प्रम ओली

logo
प्रकाशित २०७२ पुष २९ बुधबार
kp.jpg.jpeg
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वविद्यालयमा क्षमता र दक्षताका आधारमा पारदर्शी रुपमा पदाधिकारी नियुक्ति गरिने बताउनुभएको छ । लोकतान्त्रिक प्राध्यापक सङ्घका पदाधिकारीले आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ध्यानाकर्षणपत्र ग्रहण गर्दै उहाँले विश्वविद्यालय राजनीतिक भागबण्डाका आधारमा नभई प्राज्ञिक आधारमा सञ्चालन हुनुपर्ने पक्षमा आफू रहेको बताउनुभएको प्रम ओलीका प्रेस सल्लाहकार प्रमोद दाहालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । 
 
सङ्घका अध्यक्ष डा उदय किशोर तिवारीको नेतृत्वमा गएको सो प्रतिनिधिमण्डलले विभिन्न विश्वविद्यालय तथा विश्वविद्यालय अनुदान आयोगमा क्षमता र दक्षताका आधारमा पारदर्शीरुपमा पदाधिकारी नियुक्ति गर्न तथा स्वच्छरुपमा प्राज्ञिक तथा शैक्षिक कार्यक्रम सञ्चालन गर्न आवश्यक कानुनी व्यवस्था मिलाउन प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको थियो ।  प्रधानमन्त्री ओलीले योग्यता, क्षमता र योगदानका आधारमा विश्वविद्यालयमा नियुक्ति हुने विश्वास दिलाउँदै समान योग्यता हुनेबीच पक्षपात नगरिने बताउनुभएको विज्ञप्तिमा जनाइएको छ । 
 
प्रधानमन्त्री ओलीले भन्नुभयो, “हाम्रो शिक्षा र हाम्रा शिक्षण संस्थाहरु गुणस्तरीय हुनुपर्छ ।” उहाँले शिक्षण संस्था र अस्पताल जस्ता संस्थामा माग पूरा गराउने नाममा तालाबन्दी र बन्द हडताल जस्ता कामहरु गर्न नहुने र त्यस्ता कामहरु सरकारलाई सह्य नहुने पनि बताउनुभएको विज्ञप्तिमा जनाइएको छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ