पूर्वराष्ट्रपतिबाहेक अन्यलाई सुविधा दिन खोज्नु लाजमर्दो कुरा हो(अन्तर्वार्ता)
राष्ट्रपतिलाई ‘घरभाडा’भन्नु अपमानजनक, प्रधानन्यायाधीशले पेन्सन पाइहाल्छन्, पूर्वप्रधानमन्त्रीहरु राजनीति गरिहाल्छन्’
प्रकाशित २०७४ भदौ २४ शनिबार
554
Shares
संसदकाे राज्य व्यवस्था समितिमा पूर्व पदाधिकारीलाई सुविधान दिने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७३ विचाराधिन छ । विधेयक सैद्धातिक छलफलका क्रममा छ । विधेयकमा पूर्व राष्ट्रपतिलाई महिनाको ५० हजार, उपराष्ट्रपतलाई ४० हजार प्रस्ताव गरिएको छ । आवास सुविधानमा पूर्व राष्ट्रपतिलाई दुई लाख र अन्य पूर्वविशिष्टलाई ७५ हजार र आफ्नै घर भए मर्मतका लागि आधा रकम दिने व्यवस्था प्रस्ताव गरिएको छ । विधेयकमाथि संशोधन राख्ने केही सांसदले सार्क राष्ट्रमा पूर्व सांसदको सुविधानको व्यवस्था रहेको भन्दै नेपालमा पनि यो व्यवस्था गर्नु पर्ने माग गरेका छन् । केही सांसले राष्ट्रपति र उपराष्ट्रपति बाहेक अन्य पदाधिकारीहरु सक्रिय राजनीतिमा आउने भएकाले सबैलाई सुविधा दिन जरुरी नरहेको बताएका छन् । यस्तै, केही सांसदले यो विधेयकमा हतार नगरी उपसमिति गठन गरेर विज्ञहरुको राय अनुसार मात्रै अघि बढ्न भनेका छन् । पूर्व विशिष्टहरुलाई सुविधा दिने कुरा नेपालको हकमा कति व्यवहारिक हुन्छ ? राज्यले पूर्वविशिष्ट सबैलाई सुविधा दिन सक्छ ? हामीले यसै सन्दर्भमा ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालका अध्यक्ष श्रीहरि अर्यालसँग कुरा गरेका छौँ ।
पूर्वपदाधिकारी सबैलाई सुविधा दिने व्यवस्था कत्तिको व्यवहारिक हुन्छ ?
–यसमा हामीले राम्ररी के सोच्नु पर्छ भने, देश बाहिरबाट भित्रिएको रेमिट्यान्सका आधारमा चलिरहेको छ । अहिले सबैले त्यसैबाट तलब खाइरहेका छन् । नेपाल भ्रष्टाचारको मापदण्डमा संसारका सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकको सूचीमा छ । यो सबैलाई थाहा भएकै कुरा हो । मुलुकको विकास, सुशासन, भ्रष्टाचार नियन्त्रण गर्ने कुराले प्राथमिकता पाएकै छैन । कसरी मुलुकलाई समृद्धितर्फ लैजाने कुराको सोच र चिन्ता छँदै छैन । यस्तो गरिब मुलुकमा त्यस्तो किसिमको अन्धाधुन्ध सुविधा दिने व्यवस्था गरेर जुन विधेयक ल्याइएको छ । अत्यन्त निन्दनीय छ । एउटा कुरा भने हो,–गणतन्त्र नेपाल स्थापना भएपछि यहाँ राष्ट्रपतिको व्यवस्था छ । पूर्व राष्ट्रपतिलाई चैँ दिनु पर्छ । पूर्व राष्ट्रपति भनेको गणतन्त्रको प्रतिकको रुपमा काम गरिसकेर आएको अवस्था हो । पूर्व राष्ट्रपतिलाई दिँदा पनि घर भाडा भनेर दिने होइन । यो अपमानजनक शब्द हो ‘घरभाडा’ । राज्यले पूर्वराष्ट्रपतिका लागि आवासको व्यवस्था गर्नु पर्छ । भाडा दिने र पैँसा दिने होइन । अरु जहाँसम्म तपाईले पृष्ठभूमिमा कुरा गर्नु भो, सबै सक्रिय राजनीतिमा छन् । सक्रिय राजनीति सँधै गर्छन् । जनताको सेवक हुँ भन्छन् । जनताका सेवक हुँ भन्नेहरुले कर्मचारी जस्तो पेन्सन खानलाई राजनीति गरेका हुन् ? भन्नु पर्यो । पेन्सन खानको लागि हामीले यति लामो राजनीति गरिरहेका छौँ । सत्तापनि छोड्दैनौँ । सत्तामा पनि रहिरहन्छौँ भन्नु प¥यो । होइन भने यो किसिमको सुविधा अत्यन्त गलत कुरा हो ।
पूर्व सांसदहरुलाई नि ?
–हत्तेरिका । जनतामाझ भिज्न नसकेर वा कुनै प्रकारले पाखा लागिसकेका व्यक्तिहरुलाई पनि सुविधा दिनु पर्छ भनियो । मुलुकका लागि उनीहरुले के योगदान गरे ? गणतन्त्र प्राप्तिका लागि लड्यौँ भन्छन् भने, राष्ट्रपति बाहेक अरु कुन् ठाउँमा सुव्यस्था कायम गर्न सके । सांसदले जनताको आर्थिकस्तर वृद्धिमा के काम गरे ? सबैभन्दा महत्वपूर्ण कुरा त यिनका कारणले देशको आर्थिक समृद्धि भएको भए , समृद्धशाली नेपाल बनाउन सकेको भए एउटा कुरा हो । केही न केही गरेको भए राज्य कोषबाट दिन सकिने कुरा हुन्थ्यो होला नि । कुरा गर्छन् । अमेरिकामा यस्तो छ, बेलायतमा यस्तो छ, त्यो ठाउँसम्म हाम्रो देशलाई पुर्याउन पहिले । त्यसपछि प्रश्न उठाउँदा हुन्छ । प्रत्येक वर्ष हामी अधोगतितिर गइरहेका छौँ । अधोगतितिर लगाउने समुदायलाई नै सुविधा दिने हो भने जनतालाई सिटामोल कुन पैँसाले दिने ? त्यसैले पूर्व राष्ट्रपतिलाई दिने भन्ने कुरा त्यो गणतन्त्रलाई सम्मान हो । त्यो ठिक छ । तर, अरुको हकमा कुनै तुक छैन ।
सार्क राष्ट्रमा यो व्यवस्था छ, नेपाल पनि सार्क भित्रै रहेकाले नेपालमा पनि यो व्यवस्था हुनुपर्छ भन्ने तर्क के हो ?
–त्यही त मैले के भनिरहेको छु भने, नेपाललाई पनि उन्नत मुलुकमा लगिएको थियो भने ठिक छ । मैलै आर्थिक पाटोको कुरा गरिरहेको छु । सुविधानको कुरा आर्थिकसँग जोडिएर आउँछ । मुलुकलाई आर्थिक समृद्धितर्फ लैजान यिनीहरुले के योगदान गरे ? यिनीहरुको काम क्रियाबाट मुलुकमा के भयो त ? खाली राजनीतिक कुरा गरेर गणतन्त्र ल्यायौँ मात्रै भनेर त पुगेन । संविधान मात्रै निकाल्यौ भनेर भएन । संविधानले के गर्छ ? जबसम्म जनताको आर्थिकस्तर वृद्धि गर्ने काममा एउटा राम्रो फड्को मार्न हामी सक्तैनौँ तबसम्म जनता सिटामोल खान नपाएर मर्न बाहेक अरु उपलब्धि छैन । हामीलाई लाज लाग्नु पर्ने हो । रेमिट्यान्सबाट पालिएको मुलुक छ । हामी हाजभोली मानिस निकासी गर्छौँ । ती निकासी गरेका मानिसले कमाएको पैंसाको रेमिट्यान्सबाट तलब खान्छौँ । भन्न पनि लाज मर्नु । जनप्रतिनिधि भनेर हामी तलब सुविधा लिइरहेका छौँ ।
कानुनी रुपमै हामीले सुविधा दिने व्यवस्था गर्दा अव्यवहारिक भन्नुको कारण ?
–यो त प्रष्ट र ज्वलन्त रुपमा देखिएको छ नि । हाम्रो मुलुकको आर्थिक स्थिति कस्तो छ अहिले ? अलिकति बाढी आइदियो । प्राकृतिक विपद् आइलाग्यो भने दातालाई गुहार्नु पर्ने अवस्था छ । विदेशीले भूकम्प पीडितलाई दिन्छु भनेको रकम समेत ल्याउनेसम्मको काम भएको छैन । भएको पैँसा फिज गराएर लाने । त्यति धेरै असक्षमता छ हाम्रो । सक्षम प्रशासन निर्माण गर्न यिनीहरुले सकेका छन् ? प्रशासनलाई प्रशासन जस्तो, सुशासन दिने प्रशासन जस्तो केही गर्न सकेका छन् । भागबण्डा गरेर तैचुप मैचुपको अवस्थामा मुलुकलाई लगेको अवस्था होइन यो । उहाँहरुले मुलुकलाई आर्थिक समृद्धिको गन्तव्यतिर लान योगदान गरेकै छैन भन्दा केही फरक पर्दैन । पैसा दिने भन्ने वित्तिकै मुलुकको आम्दानीको कुरा आउला । पहिलो कुरा त मुलुक त्यो सुविधानको आर्थिक भार थेक्न सक्छ कि सक्दैन । त्यो हेर्नु पर्दैन ? पूर्वप्रधानमन्त्री र त्यसमाथि पनि सक्रिय राजनीति गर्नेहरुलाई त यो सेवा दिनै हुँदैन । सांसद हुनुभन्दा अगाडि उनको आर्थिक हैसियत कस्तो छ ? सांसद भइसकेपछि घर ठड्याउने देखि सारा व्यवस्था गरेकै छन् । आ–आफ्नो जोह गरिसकेका व्यक्तिलाई अहिलेको अवस्थामा यो सुविधान दिनु हुँदैन । सँधैभरी भन्दिन म, यस्ता प्रस्तावलाई अहिलेको अवस्थामा उहाँहरुले फिर्ता लिनु पर्छ । सरकारले जुन विधेयक प्रस्तुत गरेको छ । त्यो विधेयकमा पनि पूर्वराष्ट्रपतिलाई आवास दिएर सम्मानित गर्ने हो । पूर्वराष्ट्रपतिलाई यिनी थिए र गणतन्त्रको प्रतिक यिनलाई मान्न मान्न पायौँ भन्ने किसिमका बाहेक अन्यलाई सुविधा दिनु हुँदैन ।
प्रधानन्यायाधीशका हकमा चैँ ?
–सर्वोच्च अदालतको हालत अहिले हेर्नुस् । न्यायपालिका कुन अवस्थामा पुगेको छ । अदालतमा भागबण्डाबाट न्यायाधीश नियुक्ति भइरराखेको छ । यो उनीहरुले दिएको योगदानबाट आएको हो । सांसद पनि राजनीतिक दलबाटै आएका हुन् । उनीहरुले दिएको योगदानबाट भागबण्डा भएको भन्न मिल्छ ? न्यायपालिका त्यस्तै ध्वस्त पारिदिएको छ । अदालतमा प्रधानन्यायाधीश तीन महिना, छ महिनामा फेरिरहन्छन् । त्यो प्रधानन्यायाधीश पदलाई सम्मान गर्नु पर्छ । तर, कति प्रधानन्यायाधीशलाई सुविधा दिने ? अहिले पनि १२–१५ जना होलान् पूर्व प्रधानन्यायाधीश । एउटा कुरा, के विचार गर्न पर्छ भने, प्रधानन्यायाधीश र अरु न्यायाधीशम धेरै ठूलो फरक हुँदैन । प्रधानन्यायाधीश भनेको सर्वोच्चका सबै न्यायाधीश मध्येको पहिलो न्यायाधीश हो । त्यो भन्दा बढी अरु केही होइन । ती प्रधानन्यायाधीशले पेन्सन खाइहाल्छन् । कर्मचारी भएको नाताले पहिलेदेखि सरकारले विभिनन सुविधान दिइरहेकै छ । फेरि छुट्टै सुविधान दिनु पर्छ भन्दा कतिवटा सम्मलाई दिने ? देशले थेग्नु पर्दैन ।
राउटे, मुसहर र लोपोन्मुखलाई सेवा दिने कि यिनलाई सुविधा दिने ? त्यतिमात्रै होइन प्रशासन पार्टीकरण भएको छ । लोकतन्त्रको मूल्यमान्यता त कहाँ हो कहाँ ? एकातिर देशलाई तहसनहस पार्ने अर्कोतिर सुविधान खोज्ने ? अहिले संसदमा कोरम पुग्दैन । भत्ता आएकै छ । यस्तै, मन्त्री कसले उल्लेखनीय काम गरेको छ र ? लोकतन्त्र आएपछि पाँच जना मन्त्रीको नाम लिउँ त खै पाँच जना राम्रो काम गरेका को छन् ? हाम्रो नागरिक समाज साह्रै कमजोर भयो । हामी साह्रै कमजोर भयौँ । त्यसको फाइदा उठाएर यिनीहरुले यो माग गरेका हुन् । यो भन्दा कुने अतियुक्ति हुँदैन ।
अहिले कर्मचारीतन्त्र कमजोर भएको, राजनीति हावी भएको हो ?
–एकदमै । यो कुरा त दिन प्रतिदिन तपाई देख्नु हुन्छ नि । राजदूतमा भागबण्डा । हुँदा हुँदा अहिले ट्रेड युनियनले प्रशासन तहसनहस गरेको छ । ट्रेड युनियनलाई मात्रै नभनौँ ट्रेड युनियनका मालिक को त ? यिनै राजनीतिक दलका नेता होइनन् । ट्रेड युनियन नेपालमा चाहिन्छ कि चाहिँदैन ? टे«ड युनियनले ट्रेड युनियनको काम गरेका छन् ? ट्रेड युनियनलाई तह लगाउन सकेका छन् यिनीहरुले । अहिलेको प्राथमिता हेर्नुस्, स्थानीय तहको कानुन नआएर निर्वाचित जनप्रतिनिधिहरु विलखवन्दको अवस्थामा परेका छन् । प्राथमिकता के हो ? स्थानीय तहको लागि कानुन ल्याउने होइन ? कि सुविधाको विधेयकमाथि छलफल गर्ने हो ? म सम्पूर्ण सांसदहरुलाई सोध्न चाहान्छु प्राथमिकता के हो ? प्रमुखता के हो ? त्यो कुरातिर संसदको ध्यान छैन । तत्काल आवश्यक नभएको कुरामा किन छलफल अघि बढाएको ?
संघीय संरचना अनुसार सिंहदबारको अधिकार गाउँ गयो कि, फेरि केन्द्रिकृत मानसिकता फर्किँदै हो के हो ?
–यो सिंहदरबारको अधिकार स्थानीय तहमा गयो भन्दा पनि सिंहदरबारको विकृति स्थानीय तहमा जान्छ कि भन्ने डर भो । सिंहदरबार भन्ना साथ यस्तो प्रतिक छ थ्यो । यसले मुलुकमा कहिल्यै स्थिरता दिएन । कति प्रधानमन्त्री भए ? दुई अढाई वर्ष सरकार टिक्ने स्थिति कहिल्यै बनेन । अस्थिरता त्यही सिंहदरबारबाट आएको छ । दरबार भन्ने शब्द नै गलत भइसक्यो । सिंहदरबारको अधिकार भन्ने ठाउँमा के भनिनु पर्दथ्यो भने, जनताका लागि तिमिहरु जनभवन बनाऊ । त्यहाँबाट मुलुकको जनतालाई सेवा गर भन्नु पर्ने थियो । सिंहदरबारको ठूलो नारा लगाएर जनताको जीवनस्तर वृद्धि हुने होइन । स्थानीय तहलाई शक्तिशाली बनाएर, अधिकार सम्पन्न बनाएर मात्रै पुग्दैन । गम्भीर रुपमा केन्द्रस्तरबाट निगरानी गर्ने स्वतन्त्र निकाय बनाइनु पर्दछ । अहिले पाँच वर्षसम्म जनप्रतिनिधिको कार्यकाल रहने कानुन छ, तर त्यसले विकृति विसंगति रोक्छ कि रोक्दैन ? त्यसलाई नियमन गर्ने निगरानी गर्ने संयन्त्रहरु निर्माण गरेको खै ? अहिले नै देखिसकियो स्थानीय तहले प्राथमिकता जनतालाई नदिएर आफ्ना सुविधाका लागि काम गरेका कुराहरु आइरहेका छन् । स्थानीय तहको निर्वाचन भो साह्रै राम्रो कुरा हो । तर, त्यसलाई कसरी नियमन गर्ने, कसरी सुविधा दिने, कसरी जनप्रतिनिधिको शक्ति जनताका पक्षमा प्रयोग गर्ने ? त्यो किसिमको वातावरण बनाउनु पर्ने ठाउँमा विलखवन्दमा लगेर स्थानीय तहलाई राखिएको छ । यसले धेरै नराम्रो परिणाम निकाल्दै छ । काठमाडौं दुर्गन्धित छ । लोकतन्त्र आएको यत्रो भइसक्यो काठमाडौँको फोहर उठ्न सकेको छैन । अनावश्यक कुराहरुलाई अघि बढाएर जनताको मतलाई अवमूल्यन गर्ने छुट कसैलाई छैन ।
स्थानीय तह गठन भइसकेपछि अब भ्रष्टाचार, अनियमितता हुँदैन भन्ने बुझ्ने हो हामीले ?
–ढंगले गरे नियन्त्रण हुन्छ । तर, ढंगले गर्न सकेनौँ भने, स्वतन्त्रताको नाममा जताततै कामविहिनताको स्थिति, ठूलाले सानालाई नमान्ने परिपाटी कायमै राख्यौँ भने त्यसले नराम्रो परिणाम ल्याउँछ । सबै राजनीतिक दल जिम्मेवार बन्नु पर्छ । खास गरेर सत्तामा रहनेहरुले सोच्नु पर्छ । सत्ता भनेको प्रतिपक्षपनि हो । प्रतिपक्षी त संसदमा छँदै छैन जस्तो लाग्न थाल्यो । कत्रा–कत्रा भ्रष्टाचारका काण्डहरु भएका छन् । कस्ता–कस्था बेथिति भएका छन् । त्यो सम्बन्धमा संसद कहिल्यै बोल्दैन । सकारलाई जिम्मेवार बनाउने प्रतिपक्ष हो नि । प्रतिपक्ष कहिल्यै लागेन । खाली चुनाव भनेको छ, चुनाव भनेको छ । म त कल्पना गर्न सकिरहेको छैन, स्थानीय तहको चुनाव त अब लगभग अन्तिम चरणमा आइसकेको छ । अब प्रदेश र संघीय संसदको चुनाव भएपछिको पाँच वर्ष कस्तो होला ? किन भने, त्यो पाँच वर्षलाई काम गर्नका लागि सबै व्यवस्था त अहिल्यै नै गुर्नु पर्ने हो नि । अहिले स्थानीय तहको निर्वाचन भयो, तर, उनीहरुले के गर्ने कसो गर्ने भन्ने कुरा मन्त्रालयको सचिवले निर्देशन दिइरहेको छ । सचिवको निर्देशनबाट चल्ने हो भने किन कानुन चाहियो ? कानुनबाट चल्ने हो भने संसदमा पुगेको कानुन पास गर्न किन ढिलाई गरेको ? प्रतिपक्षले खै कुरा उठाएको ? सरकारलाई जिम्मेवार बनाउने काम त प्रतिपक्षीको हुन्थ्यो नि । सरकार जवाफदेही हो कि होइन । हो, भने यत्रा सारा विकृति, विसंगति आइरहेका छन् । सञ्चारमाध्यममा यत्रो समाचार आइरहेका छन् । सरकारकै प्रवक्ताको मुखबाट यो त यस्तो होइन अथवा यस्तो हो भनेर जनतालाई भनिदिनु पर्ने हो कि होइन ? कहिल्यै तपाईले त्यस्तो कुरा सुन्नु भा छ ? काग कराउँदै छ, पीना सुक्दै छ जस्तो भइरहेको छ । त्यसैले मैले पूर्वपदाधिकारीलाई सुविधा दिने व्यवस्था गर्न बनेको विधेयकलाई कसरी जोडे भने, त्यो विधेयक आवश्यकता नै छैन । राष्ट्रपतिलाई भाडा होइन, आवास सुविधा दिइनु पर्दछ । अन्यलाई किन दिने ? त्यसको औचित्य के ?