arrow

योजना काटिँदा गाउँपालिकामा तालाबन्दी, समाधानको चाबी मंगलसेनमै

logo
प्रकाशित २०७४ भदौ २७ मंगलबार
achham_new.png

अछाम । वडा परिषद्बाट पारित भएका योजना गाउँपालिकाबाट हटाइएको भन्दै अछामको ढकारी गाउँपालिकामा चार दिनसम्म तालाबन्दी भएको छ । 

वडाबाट पारित भएका योजनालाई गाउँपालिका प्रमुखलगायत केही व्यक्तिले राजनीतिक आस्थाका आधारमा हटाएको भन्दै वडा नं २, ३ र ५ का जनप्रतिनिधिले तालाबन्दी गरेका हुन् । 

स्थानीयस्तरमा पटक–पटक छलफल भएपनि दुवै पक्ष आ–आफ्नै अडानमा रहेका कारण ताला खोल्न नसकिएको बताइएको छ । 

सदरमुकामबाट जिल्ला समन्वय समितिका उपसंयोजकको टोली गाउँपालिकामै पुगेर सोमबार छलफल हुँदा पनि निष्कर्षमा पुग्न नसकेको वडा नं ३ का वडाध्यक्ष महादेव बुढाले बताए । 

गाउँपालिका अध्यक्ष नेपाली काँग्रेसबाट जितेका र तीन वडामा नेकपा एमालेले जितेका कारण ती वडाका योजनामात्रै हटाइएको तर अन्य व्यक्तिले पठाएका योजना गाउँसभाबाट पारित भएको उनको भनाइ छ । 

यता गाउँपालिका अध्यक्ष धनबहादुर बुढाले भने आफूले केही योजना हटाएको तथा केही योजना थपेको स्वीकार गर्दै निर्णय भइसकेको अवस्थालाई उल्ट्याउन नसक्ने बताउँदै आएका छन् । 

ढकारी गाउँपालिकाले आफ्ना आठ वडामा प्रत्येक वडालाई रु ८० लाख बराबरको योजना बनाएर गाउँपालिकामा पेश गर्न भनेको थियो । 

यसैबीच गाउँपालिकामा योजनाको विषयलाई लिएर भएको तालबन्दी तथा विवादलाई समाधान गर्नका लागि दुईवटै पक्षलाई बोलाएर मंगलसेनमै छलफल गरिने भएको छ । 

जिल्ला प्रशासन कार्यालयमा जिल्ला समन्वय समिति संयोजक, विभिन्न राजनीतिक दलहरुको संयुक्त बैठकले गाउँपालिकामा लाएको ताला खोल्ने र तीन वडाका योजनाका बारेमा मंगलबार सदरमुकाममा छलफल गर्ने त्रिपक्षीय सहमति भएको अछामका प्रमुख जिल्ला अधिकारी किशोरकुमार चौधरीले जानकारी दिए । 

दिउँसो सदरमुकाममा तीन वडाका जनप्रतिनिधि, गाउँपालिका प्रमुख उपप्रमुखसहित अन्य सरोकारवालाको संयुक्त बैठक बसी सहमति कायम गरिने प्रजिअ चौधरीको भनाइ छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ