काठमाडौं। नेपाल अइल निगम (एनओसी) ले भारतीय अइल कर्पोरेशन (आइओसी) लाई क्षति पूर्ति मागेको छ। १५ दिनदेखि पेट्रोलियम पदार्थ आयात ठप्प हुँदा ८७ करोड रुपैयाँ घाटा भएको भन्दै निगमले आइओसीलाई क्षतिपूर्ति भर्न पत्राचार गरेको हो ।
एनओसी र आइओसीबीच भएको सम्झौता अनुसार नेपालमा तेल नआउँदा भएको घाटा भर्न कडा पत्र लेखेको छ। एनओसी र आइओसीबीच भएको ब्यापारिक सम्झौता ‘बिटूबी’ अनुसार क्षतिपूर्ति भर्न भन्दै निगमले पत्र लेखेको हो ।
सम्झौतामा एनओसीले माग गरे अनुसार तेल आइओसीले उपलब्ध नगराए
क्षतिपूर्ति दाबी गर्न सक्ने उल्लेख छ । सोही बुँदामा टेकेर निगमले आइओसीलाई क्षतिपूर्ति उपलब्ध गराउन कडा पत्र पठाएको स्रोतले जनाएको छ । ‘बिटूबी’सम्झौतामा दुबै पक्षले आपूर्तिमा कुनै अवरोध नगर्ने उल्लेख छ । तर, आइओसीले सम्झौता उल्लंघन गरेपछि पत्र लेख्न बाध्य भएको निगमले जनाएको छ । निगमलाई १५ दिनमा झण्डै एक अर्ब बढी घाटा भएको छ । भारतीय अल कर्पोरेसनले शनिबार ट्याङकर पठाउन भनेर आइतबार तेल दिन नसक्ने बताउनुले सम्झौता तोडेको पुष्टी भएको बताइएको छ ।
विश्व बैंकले आइतबार सार्वजनिक गरेको प्रतिवेदनमा आर्थिक वृद्धिदर ३ दशमलव ४ प्रतिशतमा खुम्चिने आँकलन छ । कूल २१ खर्बको अर्थतन्त्रमा अर्बौै घाटा हुँदा आर्थिक वृद्धिदर सोचे भन्दा निकै कम हुने भएको हो । निगमले १५ दिनमा कमाउने नाफा मात्रै जोड्दा समेत ८७ करोड रुपैयाँ हुन आउँछ, –स्रोतले भन्यो । एनओसीको वेवसाइटमा गत महिना प्रकाशित नाफा अनुसार १५ दिनमा सो नोक्सान हुन आउँदछ।