नक्कली भ्याट विल पेश गरी कारोबार गर्ने गिरोहविरुद्ध १९ करोडको मुद्दा
प्रकाशित २०७४ भदौ २८ बुधबार
549
Shares
काठमाडौं । राजश्व अनुसन्धान विभागले नक्कली भ्याट बिल कारोबारी ९ जनाविरुद्ध १९ करोडको मुद्दा दर्ता गरेको छ । विभागले नक्कली भ्याट बिल कारोबारीविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दर्ता गरेको हो । नक्कली भ्याट बिल कारोबारमा एक दशकयताकै ठूलो ठगि हो । मुद्दा दर्ताअघि विभागले तीन महिना लगाएर अनुुसन्धान गरेको थियो ।
दीपककुमार बर्मा, प्रदीपकुमार बर्मा, गणेश रिजाल, अनिल महतो धानुक, गुल्सन श्रीवास्तव, दशरथ हजरा दुसाद, उपेन्द्र महतो, राजेशकुमार श्रीवास्तव र सिकेन्द्रकुमार श्रीवास्तवविरुद्ध मुद्दा दर्ता भएको हो ।
उनीहरुविरुद्ध विभागले ९ करोड ९१ लाख ४६ हजार रुपैयाँ बिगो र त्यसको दोब्बर १९ करोड ८३ लाख ७२ हजार रुपैयाँ जरीवाना असुल गर्न भन्दै मुद्दा हालेको छ । उनीहरुलाई ३–३ वर्ष जेल सजायको पनि माग गरिएको छ ।
यी कारोबारीले वीरगञ्जको कालिका ट्रेड एन्ड एप्लायर्स, आदित्य ट्रेड एन्ड सप्लायर्स र विश्वकर्मा ट्रेड कन्सर्नमार्फत् सामान खरिद गरिएको भुटो भ्याट बिल पेश गरेको विभागको अनुसन्धानमा खुलेको छ ।
विभागका अनुसार उनीहरूले वस्तुको कारोबार नै नगरी बिलविजक जारी गरेर सरकारसँग भ्याट क्रेडिट दाबी गरेका थिए । ती फर्मका बिलविजक स्वीकार गर्ने थप २९ फर्ममाथि पनि अनुसन्धान भइरहेको विभागले जनाएको छ ।
कारोबारीहरुले कर प्रणालीको दुरुपयोग गरेर राज्यलाई तिर्नुपर्ने भ्याट रकमभन्दा बढी देखिने फर्जी खरिद विवरण पेश गरी राजश्व छल्ने प्रयत्न गरेको विभागको भनाइ छ । यी गतिविधि पोहोर साल भएको विभागले जनाएको छ ।