arrow

सगुनका युजरलाई खुशिको खबर, मोवाइल एप आउँदै, केही सातामै प्रयोग गर्न पाइने

logo
प्रकाशित २०७४ असोज २ सोमबार
sagoon.jpeg

काठमाडौं। सोसियल कर्मस साइट सगुनका प्रयोगकर्ताहरुका लागि खुशिको खबर छ। नेपालीले अमेरिकामा स्थापना गरेको अरुभन्दा फरक खालको सामाजिक संजाल सगुन अब मोवाइल एपमा समेत उपलब्ध हुने भएको छ। केही अघि विश्वभर आफ्नो सेयर बेचेर चर्चामा आएको सगुन इंकले एन्ड्रोइड भर्सनमा एपको फस्ट लुक सार्बजनिक गरेको छ। 

सगुनले केही महिनाअघि अमेरिकी बजारमा मिनी आइपिओ जारी गरेको थियो। वेवमा रहेको सगुनलाई अब मोवाइलमै उपलब्ध गराउन यसका दर्जनौं इन्जिनियर भारतको नयाँ दिल्लीमा रहेको सगुनको दक्षिण एशियाली कार्यालयमा अहोरात्र खटिइरहेका छन्। सगुनकी सहसंस्थापक स्वाती दयालले सगुनको मोवाइल एपको फस्ट लुक सार्बजनिक गर्दै केही साताभित्रै सर्बसाधारणले उपयोग गर्न पाउने बताइन्। सगुनले मोवाइल एप पहिले एन्ड्रोइड प्लेटफर्ममा र त्यसपछि आइफोनको एप्पल स्टोरमा उपलब्ध गराउने गरी काम गरिरहेको छ। 

दयालले मोवाइल एपको आन्तरिक परीक्षण भइरहेको बताउँदै दक्षिण एशियाली बजारलाई लक्षित गरेर मोवाइल एप ल्याउन लागेको बताइन्। उनका अनुसार सगुनको मोवाइल एप करिव तयार भइसकेको छ। आन्तरिक रुपमा परीक्षण गर्दा देखिने एररहरु फिक्स भएपछि सर्बसाधारणका लागि सार्बजनिक गरिने छ। 

सगुनले मोवाइल एपमा डेस्कटप भर्सनमा नभएका थप सुविधासमेत हुने बताएको छ । मोवाइलमै सोसियल नेटवर्किङ साइटको प्रयोग बढ्दै गएका बेला सगुनले मोवाइल एप ल्याउन लागेको हो। सगुनको एपमा सेक्रेट म्यासेज पठाउने, आफ्नो दैनिकी सेयर गर्ने, मुड टक, ओपन सेक्रेटलगायतका कैयन सुविधा हुने कम्पनीले दावी गरेको छ।

केही महिनाअघि अमेरिकी सेयर बजारमा आफूलाई प्रवेश गराएको सगुनले विश्वब्यापी रुपमा सर्बसाधारणलाई सेयर बेचेर लगानी जुटाउन शुरु गरेको थियो। अहिले सगुनले बेलायतमा रहेको आफ्नो कार्यालयबाट दोस्रो चरणको शेयर निस्कासन गरेको छ।  सगुनका संस्थापक गोविन्द गिरीले बेलायतमा गोर्खाली सैनिकले बहादुरी देखाएर नेपालीको नाम उचो गरेको भन्दै यही भूमीबाट नेपालीले स्थापना गरेको आइटी कम्पनी सगुनले दोस्रो चरणमा सेयर बेचेर लगानी जुटाउन लागेको बताए। उनले लगानीकर्ताले पहिलो पटक क्रेडिट‍-डेविट कार्डमार्फत पनि लगानी गर्न सक्ने गरी ब्यवस्था मिलाएको जानकारी दिए। यसअघि संसार भरका लगानीकर्ताले वायर ट्रान्सफर गरेर लगानी गर्न सक्ने ब्यवस्था थियो। यसरी शेयर खरिद आवेदन गर्न निकै झन्झटिलो भएको गुनासो आएपछि सगुनले सहज बनाउन नयाँ व्यवस्था गरेको हो। क्रेडिट र डेविट कार्डमार्फत शेयरमा लगानी गर्न अवसर पाउने अमेरिकी स्टार्ट अप कम्पनीहरुमा सगुन पहिलो भएको कम्पनीको दावी छ।

सगुनको यस पटक प्रति शेयर २३ डलरका दरले कम्तीमा १ हजार डलर शेयरमा लगानी गर्न सक्ने ब्यवस्था मिलाएको छ। सगुनले यस चरणमा ८ लाख कित्ताभन्दा वढी शेयर विक्रि गर्ने योजना बनाएको छ। कम्पनीको शेयर बिक्री सम्बन्धी सूचनाहरु www.sagoon.com/invest बाट उपलब्ध हुने सगुनले बताएको छ।

सगुनले पहिलो चरणमा गरेको शेयर निस्कासनमा करिव ३ हजार ५ सय लगानीकर्ता शेयर खरिद गर्न आवेदन गरेका थिए। सगुनले संसारभर छरिएर रहेका नेपाली र एशियाली समुदायलाई लक्षित गरि लगानीको योजना सार्वजनिक गरेको छ। सगुनले मोवाइल एपबाट आफ्नो युजर बेस बढाएपछि सामाजिक संजालमा अहिलेसम्म प्रयोगमा नआएको स्मार्ट कार्ड ल्याउने तयारी गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ