arrow

सिसडोलमा फोहर विसर्जन बन्द, अब वन्चरे डाँडामा

logo
प्रकाशित २०७४ असोज १० मंगलबार
Metropolitan_Office_KTM.jpg.jpeg.jpeg

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यसअघि सिसडोलमा फोहर विसर्जन गर्दै आएकोमा अबको केही समयपछि नुवाकोटको वन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउने बताएको छ । 

नुवाकोट सिसडोलका स्थानीय बासिन्दाले समय समयमा अवरोध गर्दै आएकाले अब वन्चरे डाँडामा फोहर संकलन केन्द्र बनाउन लागेकोे कामपाका उपप्रमुख हरिप्रभा खड्गीले जानकारी दिइन् ।  

उनका अनुसार वनचरीमा फोहर संकलन गर्दा स्थानीय बासिन्दालाई कुनै असर गर्दैन त्यसैले उक्त स्थानको अवलोकनसमेत कामपाले गरिसकेको छ । अब कामपाको फोहर संकलन गर्ने स्थान नुवाकोटको वन्चरे नै हो । 

केही समयअघि सिसडोलका स्थानीय बासिन्दाले कामपाको फोहर लैजाने गाडीका ड्राइभरलाई कुटपिट गरेपछि झण्डै एक महिनादेखि कामपाको फोहर उठ्न सकेको छैन । 

आजभन्न्दा करिब १३ वर्षअघि दुई वर्षका लागि सिसडोलका स्थानीयवासीसँग कामपाले फोहर फाल्न सहमति गरेको थियो । 

फोहर फाल्ने सहमति भएको समय सकिँदा पनि कामपाले अन्य स्थानमा फोहर व्यवस्थापन गर्न नसकेकाले सिसडोलका स्थानीयवासीले समय समयमा अवरोध गर्दै आएका छन् । कामपाबाट मात्र हाल दैनिक ५०० टन फोहर सिसडोल लाने गरिएको छ । 

अबको केही समयमा नै कामपाले प्रत्येक घरमा कुहिने र नकुहिने फोहरलाई फरक फरक स्थानमा व्यवस्थापन गर्न अनिवार्यसमेत गर्ने भएको छ । 

कुहिने फोहरलाई घरधनीले व्यवस्थापन गर्नुपर्ने छ भने नकुहिने फोहरमात्र कामपाले व्यवस्थापन गर्ने उपप्रमुख खड्गीले स्पष्ट पारिन् । 

कामपाले हाल विभिन्न स्थानमा थुप्रिएर रहेको फोहर केही दिनमै उठाउने पनि उपप्रमुख खड्गीले बताइन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ