काठमाडौँ । एकीकृत नेकपा (माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले इतिहास बोकेको साझा प्रकाशनलाई जोगाउन र यसको श्रीवृद्धिका लागि आफ्नो तर्फबाट पूर्ण सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ । ‘साझा बचाउ अभियान’का तर्फबाट आज उहाँलाई बुझाइएको ध्यानाकर्षणपत्र बुझ्दै अध्यक्ष दाहालले संस्थालाई अगाडि बढाउने विषयमा प्रधानमन्त्री र शिक्षामन्त्रीलाई ध्यानाकर्षण गराउने विश्वास दिलाउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो– “साझा जस्तो इतिहास बोकेको साहित्यिक संस्था मुलुकमा वामपन्थीको सरकार भएका बेला डुब्ने भन्ने हुन सक्दैन, यसलाई बचाउन म तत्कालै प्रधानमन्त्री र शिक्षामन्त्रीसँग कुरा राख्छु ।” गौरवमय इतिहास बोकेको संस्थालाई दीर्घजीवी बनाउन आफ्नो तर्फबाट सरकारलाई ध्यानाकर्षण गराउने र काँधमा काँध मिलाएर अगाडि बढ्न आफू तयार रहेको उहाँको कथन थियो । संस्थालाई व्यावसायिक र प्रतिस्पर्धी बनाउने योजना ल्याउन र त्यसको पूर्ण कार्यान्वयन हुने वातावरण मिलाउन आफ्नो तर्फबाट के गर्न सकिन्छ त्यसबारेमा आफू र आफ्नो पार्टी स्पष्ट रहेको बताउनुभयो ।
साझाको समग्र उन्नयन प्रक्रियामा सहयोगी बन्न र संस्थालाई बचाउन आग्रह गर्दै अभियानले यसअघि राष्ट्रपति, प्रधानमन्त्री, शिक्षामन्त्री, प्रमुख राजनीतिक दलका शीर्ष नेतासँग भेटघाट गरिसकेको छ । सञ्चालक समितिका सदस्य प्रदीप नेपालले गौरव बोकेको संस्था डुबाउनु भनेको दलाल पुँजीवादलाई भित्र्याउनु हो भन्दै तत्काल सुधारको अभियान थाल्नुपर्ने आवश्यकता औँल्याउनु भएको थियो । जनक शिक्षा सामग्री केन्द्रले प्रकाशन गरेको पाठ्यपुस्तकको बिक्री तथा वितरणमा समेत साझा सहयोगी हुने उहाँको भनाइ थियो ।
सञ्चालक समितिका अर्का सदस्य दीनानाथ शर्माले साझा प्रकाशनको गौरवमय गाथालाई थप उचाइमा पुर्याउन सबैको साथ र सहयोगको आवश्यकता औँल्याउनुभएको थियो । साझा प्रकाशनका अध्यक्ष एवम् महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले संस्थाको समग्र अवस्था, सुधार कार्ययोजना र आगामी नीति तथा कार्यक्रमका बारेमा अध्यक्ष दाहाललाई जानकारी गराउनुभएको थियो । संस्थाले सरकारसँग सहुलियतपूर्ण दरमा रु ४० करोड रकम उपलब्ध गराउन तथा विभिन्न सुधारका कार्यक्रम सुरु गर्न अनुमति माग्दै आएको छ । सोसम्बन्धी प्रस्ताव हाल अर्थ तथा शिक्षा मन्त्रालयमा विचाराधीन रहेको छ ।