२० वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य सुरु
प्रकाशित २०७४ कार्तिक ९ बिहिबार
933
Shares
काठमाडौं । उद्योग मन्त्रालयले करिब २० वर्षदेखि बन्द रहेको विराटनगर जुट मिल सञ्चालनका लागि गृहकार्य गरिरहेको छ ।
सो मन्त्रालयले मिल सञ्चालनका लागि अर्थ मन्त्रालयसँग २५ करोड ऋण माग गरी प्रारम्भिक चरणमा सञ्चालनका लागि कार्य अगाडि बढाएको उद्योग राज्यमन्त्री रेशम लामाले राससलाई जानकारी दिए ।
करिब एक अर्ब ५५ लाख ऋण लिएको मिलले त्यसको सावा र ब्याज तिर्न बाँकी छ । उक्त मिल सञ्चालन हुँदा मुलुकको कूल मागको करिब ७५ प्रतिशत जुटको उत्पादन हुने गरेको बताइएको छ ।
विभिन्न समयमा भएका राजनीतिक अस्थिरता तथा राजनीतिक नियुक्तिले गर्दा विसं २०५४ देखि मिल सञ्चालन हुन सकेको छैन । परोक्ष तथा अपरोक्ष गरी करिब १५ हजारलाई रोजगारी दिन सक्ने सो मिल सञ्चालन गरी बेरोजगारी घटाउन पर्नेमा उद्योग राज्यमन्त्री लामाले जोड दिँदै सरकारलाई केही घाटा लागे पनि मिल सञ्चालन गरिने बताए ।
सो मिलको इतिहासलाई हेर्ने हो भने विसं २००४ मा मनमोहन अधिकारी, गिरिजाप्रसाद कोइरालालगायत नेताले मजदुर आन्दोलन गरी राष्ट्रिय राजनीतिमा प्रधानमन्त्रीसमेत बनेका थिए ।