काँग्रेस किन ? ‘संविधानको सफल कार्यान्वयन र समृद्धिका लागि’ –थापा
प्रकाशित २०७४ कार्तिक २३ बिहिबार
118
Shares
पोखरा । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री एवं प्रतिनिधिसभा कास्की क्षेत्र नं १ का उम्मेदवार यज्ञबहादुर थापाले संविधानको सफल कार्यान्वयन र राष्ट्रिय समृद्धि राष्ट्रको आवश्यकता भएको बताएका छन् ।
पोखरा लेखनाथ महानगरपालिका वडा नं ३० शिशुवामा निर्वाचन प्रचार प्रसार समितिको कार्यालयको बुधबार उद्घाटन गर्दै उनले वाम गठबन्धनका नाममा नेपाली जनताको लामो समयदेखिको संघर्षबाट प्राप्त लोकतान्त्रिक संविधानलाई नै उल्टाउने गरी भइरहेको षडयन्त्रप्रति आम नेपाली जनता गम्भीर बन्नुपर्ने बताए ।
“लोकतन्त्र र संविधानको रक्षाका लागि काँग्रेसले जित्नु अपरिहार्य छ,” उनले भने, “स्थानीय साधन स्रोतको अधिकतम् उपयोगमार्फत पर्यटन, जलविद्युत्का साथै कृषिको आधुनिकीकरणका सम्भावनालाई उजागर गरी युवाहरूलाई स्वदेशमा नै रोजगार सिर्जना गर्नु वर्तमानको प्रमुख आवश्यकता हो ।”
नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं कास्की क्षेत्र नं १ (क) का प्रदेशसभाका उम्मेदवार जीवन परियारले पर्याप्त सम्भावना भएर पनि कास्की जिल्लाको अपेक्षित विकास हुन नसकेको बताउँदै सम्भावनालाई उजागर गरी आर्थिक समृद्धि र विकासका मार्गमा जिल्लालाई उन्मुख गराउनुपर्ने बताए ।