जाजरकोट। यतिवेला जाजरकोट जिल्लाको मौसम निकै चिसो छ तर नेपाली काँग्रेसको जिल्ला अधिवेशन नजिकिदै जाँदा राजनितिक सरगर्मी भने ह्वात्तै बढेको छ। बजारका चियापसल देखी चोक र गल्ली गल्लीमा काँग्रेसकै आसन्न महाधिवेशन र जिल्ला अधिवेशनको चर्चा र बहस हुने गरेको छ । कस कसको समीकरण बन्छ, कसले चुनावी बाजी मार्छ भन्ने अड्कलवाजीहरु हुन थालेका छन्। नेताहरु कार्यकर्ता भेटघाटमा ब्यस्त छन्।
सबैभन्दा ठुलो लोकतान्त्रिक पार्टी काँग्रेसमा केन्द्रमा देखिएको गुट उपगुटबाट यो जिल्ला पनि अछुतो छैन। १२ औ महाधिवेशनको समीकरण भने फेरबदल भएको छ। आकांक्षीहरु बढेका छन्। युवा पुस्ताहरुले नेतृत्वको दावी गरिरहेका छन् । यस अघिको जिल्ला अधिवेशनबाट सभापति बनेका दीपकजंग शाह पुनः सभापतिमै उम्मेदवार बन्ने तयारीमा छन्। उनलाई सहयोग गरेका सांसद राजिव विक्रम शाहले यसपाली उनको साथ छोडेका छन्। सांसद शाहले यसपाली पुर्व सभापति सनत कुमार कार्कीलाई सभापतिमा अघि सारेका छन्।
त्यस्तै, नेपाल शिक्षक संघका केन्द्रिय उपाध्यक्ष रहेका इलमबहादुर शाही, पुर्व उपसभापति वीनबहादुर सिह र क्षेत्र नं १ का क्षेत्रिय सभापति वेदराज सिहले पनि सभापतिमा उम्मेदवारी दिने घोषणा गरेका छन्। पुर्व पार्टी सभापति झलकनाथ वाग्ले पनि मौकामा चौका हान्ने दाउमा छन्। उनले मुख नखोलेपनि संस्थापन पक्षको एक मात्र उम्मेदवारको रुपमा आफुलाई उभ्याउन लागिपरेका छन्। २०५४ सालमा आफ्नै देउवा सरकार ढालेका दीपकजंगले १२ औ महाधिवेशनमा उनै देउवालाई नै सहयोग गरेका थिए। तर यतिवेला देउवा पक्षकै राजिवसंग खटपट भएपछि उनले आफु पर्ख र हेरको अवस्थामा रहेको बताउँछन्। अहिले पनि बलियो दावेदारको रुपमा रहेका दीपकजंगले यस वीचमा महामन्त्री प्रकाशमान सिह र केन्द्रिय सदस्य अर्जुननरसिह के.सी सँग घनिष्ट सम्बन्ध बनाएका छन्।
त्यस्तै बलियो दावेदारको रुपमा रहेका कार्की यस अघि संस्थापनमै रहेपनि उनले राजिवविक्रमको सहयोग लिन क्याम्प परिवर्तन गरेको चर्चा चल्न थालेको छ। यद्यपी उनले आफु कुनै गुटमा नलाग्ने बरु सिंगो काँग्रेसको पक्षमा लाग्ने बताएका छन्। त्यस्तै वीनबहादुर, ईलमबहादुर र वेदराज युवापुस्ताका भरसिला नेतामा पर्दछन्। वीनवहादुर र इलम देउवा पक्षका हुन भने यस अघि देउवा पक्षमै रहेका वेदराज सिंह हाल आफु संस्थापन पक्षको भएको दावी गर्छन। उनको दुई महामन्त्रीसँग निकट सम्बन्ध रहेको छ। तर यी तीनै जना अन्तिम समयसम्म उम्मेदवार टिकिरहनेमा भने कार्यकर्ताको आशंका छ। एक पक्षबाट वेदराज र दीपकजंग शाह मध्ये एक जना उम्मेदवार हुने र अर्को पक्षबाट वीनबहादुर, इलम, झलकनाथ तथा सनत मध्य एक जना उम्मेदवार भै दुईपक्षिय भिडन्त हुने संकेतहरु देखा पर्न थालेका छन्। युवाहरुले आँट गर्न नसके पुरानै अनुहार वीच स्पर्धा हुने पक्का छ।
यो जिल्ला कोईराला पक्षको पकड भएपनि समाजसेवाबाट एकाएक राजनितिमा उदायका राजिवविक्रम शाहको राजनितिमा प्रवेशसँगै देउवा पक्ष पनि बलियो हुदै गएको छ। यद्यपी केही बर्ष अघिको तुलनामा राजिवको लोकप्रियता भने घट्दै गएको विश्लेषण गर्न थालिएको छ। त्यसैगरी क्षेत्र नं १ को क्षेत्रिय सभापतिमा सस्थापन पक्षका महेन्द्र शाह बलियो दावेदारको रुपमा प्रस्तुत भएका छन्। उनलाई टक्कर दिन लिलाबहादुर शाह, शुरेश कार्की र ज्ञानी प्रसाद शर्मा मैदानमा उत्रने तयारी गरिरहेका छन्। सवै संस्थापन पक्षका हुन् तर महेन्द्र शाहले आफु निर्वाचित भए रामचन्द्र पौडेललाई सहयोग गर्ने घोषणा गरेका छन्। हाल सम्मको अवस्थामा रामचन्द्रको पक्षका उनी मात्र देखिएका छन्।
क्षेत्र नं २ को क्षेत्रिय सभापतिमा, सर्पराज रावत, खड्ग बुढा र खड्ग वि.सी प्रतिस्पर्धामा उत्रने घोषणा गरेका छन्। यी मध्य विसी देउवा पक्षिय हुन भने अन्य दुईजना संस्थापनका हुन्। जाजरकोटमा यतिवेला संस्थापन र देउवा पक्ष भन्दा दीपकजंग शाह र राजिवविक्रम शाह वीच लडाई चलिरहेको छ। नाताले दाजुभाई पर्ने उनीहरु वीचको ब्यक्तिगत टकरावले गर्दा वोलचाल समेत छैन। कतिपय कार्यकर्ताले यी दुवैको विकल्प खोज्नु पर्ने तर्क गर्न थालेका छन्।
जाजरकोट क्षेत्र नं १ बाट १२ औ महाधिवेशनमा प्रतिनिधी छनौट भएका झलकनाथ वाग्ले, सनतकुमार कार्की, मुक्तीप्रसाद आचार्य, वीनबहादुर सिह, राजिव विक्रम शाह, दीपकजंग शाह, चिन्ता वाग्ले, मैना कार्की रावल, भुमिलाल रोकाय, डोटे बादी, दिलबहादुर नेपाली र वेदराज सिह तथा क्षेत्र नं २ बाट छनौट भएका इलमबहादुर शाही, यज्ञबहादुर खत्री, सर्पराज रावत, कालिबहादुर खत्री, गोरखबहादुर वि.सी., गोरखबहादुर पुन,खडग वि.सी, सीता शाही बुढा, राजकुमारी शाही, जनक बादी, धने नेपाली र रत्नबहादुर शाही रहेका थिए यी मध्य यज्ञबहादुर खत्रीले काँग्रेस छोडिसकेका र धने नेपालीको मृत्यु भैसकेको छ भने अन्य पुनः पुरानै अनुहार दोहोरिने संभावना छ। थोरै संख्यामा मात्र नयाँ अनुहारले प्रवेश पाउने छन्। यसपाली यी माथिका उम्मेदवारका साथै रत्नबहादुर खड्का , रत्न अधिकारी , राजु शाह , जनक सिह, राजबहादुर सिह, भीमबहादुर सिह लगायतका महाधिवेशन प्रतिनिधीका आकांक्षीहरु हुन।
महाधिवेशन प्रतिनिधीमा यसपाली यस जिल्लाबाट संस्थापन पक्षमा ६० प्रतिशत र ४० प्रतिशत देउवा पक्षमा प्रतिनिधी छनौट हुने विश्लेषकहरुको ठम्मयाई छ। अन्य पदाधिकारी र केन्द्रिय सदस्यमा भने ब्यक्तित्व हेरेर मतदान गर्ने नेताको भनाई छ। गाँउ र नगरको निर्वाचन भएपछि मात्र कसको कति बर्चश्व भन्ने एकिन हुने कतिपयको विश्लेषण छ।