इटाली विश्वकप फुटबलमा छनोट हुन असफल, नमज्जाले रोए बुफोन
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
696
Shares
काठमाडौं। चार पटकको च्याम्पियन इटाली ६० वर्षमा पहिलो पटक विश्वकप फुटबल प्रतियोगितामा छनोट हुन असफल भएको छ। अन्तिम प्लेअफ खेलमा घरेलु मैदानमा सोमबार राति स्वीडेनसँग गोलरहित बराबरी खेलेपछि इटाली विश्वकपबाट बाहिरिएको हो। पहिलो लेगको खेलमा स्वीडेनले घरेलु मैदानमा १–० को जित हासिल गरेको थियो। एग्रिगेटमा १–० ले विजयी हुँदै स्वीडेनले अर्को वर्ष रुसमा हुने विश्वकपका लागि टिकट काट्न सफल भएको छ।
केही तनावपुर्ण खेलमा इटालीका ४ र स्वीडेनका ५ खेलाडीले पहेंलो कार्ड खाएका थिए। यो हारले भने इटालीका कप्तान तथा गोलकिपर जियानलुइगी बुफोनको छैटौं पटक विश्वकप खेल्ने सपना चकनाचुर भएको छ। उनी यो किर्तिमानबाट चुकेका हुन् । उनी आँशु थाम्न नसकेपछि दर्शकसमेत घरेलु मैदानमा रुन पुगे। बुफोनको यो नै अन्तिम अन्तर्राष्ट्रिय खेल भएको इटालीका सन्चारमाध्यमले बताएका छन्। सन् १९५८ मा स्वीडेनले आयोजना गरेको विश्वकप खेल्न असफल भएको इटाली त्यसयता निरन्तर विश्वकप प्रतियोगितामा छनोट हुँदै आएको थियो।