व्यवसायीले सम्पूर्ण प्रशासनिक सेवा एकै ठाँउबाट पाउने
प्रकाशित २०७४ कार्तिक २८ मंगलबार
494
Shares
काठमाडौं । उद्योग मन्त्रालयले उद्योगी व्यवसायीलाई सहयोग गर्ने उद्देश्यले एकल बिन्दु सेवा चाँडो शुरु गर्ने भएको छ ।
व्यवसायीलाई आवश्यक पर्ने सम्पूर्ण प्रशासनिक सेवा एकै स्थान (उद्योग विभाग) बाट उपलब्ध गराउने उद्देश्यले यस्तो नीति ल्याइसकेको र प्रभावकारी कार्यान्वयनको चरणमा रहेको उद्योग राज्यमन्त्री रेशम लामाले जानकारी दिए।
उक्त सेवाअन्तर्गत उद्योगको दर्ता, नवीकरण, कर, शुल्क, मालपोतलगायत आवश्यक सबै सेवा एकै स्थानबाट उपलब्ध गराई व्यवसायीलाई झञ्झटबाट मुक्त गर्न लागिएको हो ।
यस सेवाबाट उद्योगीले सबै सेवा पाउने भएकाले प्रशासनिक सहजताको अनुभव गर्नेछन् । विदेशी लगानीकर्तालाई आवश्यकताअनुसार भिसा उपलब्ध गराउने, भिसा थप गर्नेलगायतका कार्य पनि सोही स्थानबाट प्रदान गरिने छ ।
बाहिरी जिल्लामा औद्योगिक क्षेत्र तथा औद्योगिक ग्रामको स्थापना गरी यस्तो सेवा उपलब्ध गराउने तयारी गरिएको छ । रासस