जनताको समृद्धिको चाहना काँग्रेसले मात्र पूरा गर्न सक्छ : गगन
प्रकाशित २०७४ कार्तिक २९ बुधबार
263
Shares
काठमाडौँ । नेपाली काँग्रेसका नेता एवं काठमाडौँ क्षेत्र नं ४ प्रतिनिधिसभा उम्मेदवार गगनकुमार थापाले जनताको समृद्धिको चाहना काँग्रेसले मात्र पूरा गर्न सक्ने बताएका छन्। घरदैलोका क्रममा बुधबार बूढानीलकण्ठको कपनमा बुद्धिजीवीलाई सम्बोधन गर्दै नेता थापाले काँग्रेसले जनताले दिएको जिम्मेवारीलाई पूरा गर्न सबै असन्तुष्ट दललाई एकै ठाउँमा राखेर संविधान जारी गरेको बताए ।
उनले भने, “मुलुकको हरेक राजनीतिक परिवर्तन काँग्रेसको नेतृत्व र संर्घषबाट मात्र सफल भएका हुन्, काँग्रसले जहिले पनि जोड्ने काम मात्र गर्छ, तोड्ने काम गर्दैन, देशमा शान्ति स्थायित्वका लागि काँग्रेसको जीत आवश्यक छ ।” पूर्वस्वास्थ्यमन्त्री नेता थापाले हरेक जनताको स्वास्थ्य अधिकार सुनिश्चित गर्न सस्तो गुणस्तरीय औषधि, अस्पतालमा सजिलै पहुँच र सबै रोगको उपचार नेपालमै हुने व्यवस्था आफूले स्वास्थ्यमन्त्री हुँदा प्रयास थालेको बताए ।
उनले राजनीतिक दलका नेता बिरामी भए उपचारका लागि विदेश जाने तर जनता बिरामी भए सामान्य उपचार पनि पाउन नसक्ने अवस्थाको अन्त्य गर्नुपर्ने बताए। रासस