बारा । संयुक्त मधेसी मोर्चाका कार्यकर्ताहरुले विहानै भरत चोकमा दुईवटा मोटरसाइकलमा आगजनी गरेका छन् । भारतको आधापुरबाट मोटरसाइकलमा ग्यालेनमा राखि पेट्रोल ल्याएको भेटेपछि मोर्चाका कार्यकर्ताले मोटरसाइकल चालकलाई कुटपिट गरी ना १० प २८२५ र लु १ प ९५५० नम्बरका दुई मोटरसाइकलमा आगजनी गरेका हुन् । घटनापछी भरत चोकमा सुरक्षाकर्मी र मोर्चाका कार्यकर्ताबीच तनाव भएको छ ।
जनकपुरमा आमहडताल
मोरङको रंगेली घटनाको विषयलाई लिएर धनुषामा आमहडताल आह्वान भएको छ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले घोषणा गरेको आमहडतालका कारण जनजीवन कष्टकर भएको छ । केही दिनदेखि सहज भएको जनजीवन फेरि ठप्प भएको हो । हडतालका कारण शैक्षिक संस्थान, बजार, कलकारखाना र यातायात सेवा समेत बन्द छ । मोर्चाका कार्यकर्ता र नेताहरु बिहानैदेखि जनकपुरका मुख्य चोकहरुमा टायर बालेर लाठी लिएर प्रदर्शनमा उत्रिएका छन् ।