जाजरकोट। जाजरकोट भेरीमालिका ३ खलंगाका दिलाराम पुन ५ बर्ष अघि नै नेपाली काँग्रेस परित्याग गरिसकेका थिए। उनी हाल संघिय समाजवादी फोरम नेपाल जाजरकोटका अध्यक्ष छन्। सोही पार्टीबाट गएको संविधान सभा सदस्यमा उम्मेदवार समेत भएका थिए । तर अहिले पनि नेपाली काँग्रेसको क्रियाशिल सदस्यको सुचीबाट उनको नाम हटेको छैन।
त्यस्तै नेपाली काँग्रेसमा पार्टी सभापति समेत भैसकेका कार्कीगाँउका यज्ञबहादुर खत्री गएको संविधान सभाको निर्वाचन अघि नै पार्टी परित्याग गरेर एनेकपा माओवादीमा प्रवेश गरे। एमाओवादीले उनलाई समानुपातिक तर्फको उम्मेदवार बनायो। तर काँग्रेसले उनलाई कुनै कारवाही गरेन हालै प्रकाशित क्रियाशिल सदस्यको सुचीमा उनको नाम पनि समावेश गरिएको छ। त्यसैगरी, अर्छानीका टेकबहादुर भण्डारी पनि काँग्रेस छाडेर एमालेमा प्रवेश गरिसकेका छन् उनको पनि काँग्रेसको क्रियाशिल सदस्यता कायमै छ। त्यस्तै भेरीमालिका नगरपालिका ३ कि गिता सुनारको गत बर्ष मृत्यु भैसकेपनि उनको क्रियाशिल सदस्यता कायमै छ।
यज्ञबहादुर खत्री गएको संविधान सभाको निर्वाचन अघि नै पार्टी परित्याग गरेर एनेकपा माओवादीमा प्रवेश गरे। एमाओवादीले उनलाई समानुपातिक तर्फको उम्मेदवार बनायो। तर काँग्रेसले उनलाई कुनै कारवाही गरेन हालै प्रकाशित क्रियाशिल सदस्यको सुचीमा उनको नाम पनि समावेश गरिएको छ।
यी त प्रतिनिधी उदाहरण मात्र हुन। पार्टी छोडेर अर्को पार्टीमा गैसकेको र मृत्यु भैसकेका तीन दर्जन बढीको क्रियाशिल सदस्यता कायमै छ। पार्टीको विधान अनुसार क्रियाशिल सदस्यले प्रत्येक बर्ष सदस्यता नविकरण गर्नु पर्ने प्रावधान छ तर हचुवाको भरमा एकमुष्ट रुपमा नविकरण गर्दा यस्तो समस्या देखिएको हो। हरेक बर्ष सदस्यता अध्याबधिक नहुँदा समस्या आएको काँग्रेस नेता झलकनाथ वाग्लेले बताए। जिल्ला कार्य समितिको लापरवाहीले यस्तो लाजमर्दो अवस्था देखिएको वाग्लेले आरोप लगाए। यता पार्टी सभापति दीपकजंग शाहले आफुहरुले मृत्यु भएका र पार्टी छोडेकाको नविकरण सिफारिस नगरेपनि केन्द्रले हचुवाको भरमा सदस्यता नविकरण गरेकोले समस्या आएको दावी गरे। यस जिल्लामा नयाँ र पुराना गरी करीव ३ हजार क्रियाशिल छन्।
पार्टीका क्रियाशिलकै नविकरण भएन
जाजरकोट क्षेत्र नं २ का क्षेत्रिय सचिव वीरमान रावत, गाँउ कार्य समिति गर्खाकोटका सभापति रिद्धिबहादुर शाही र नेपाल विद्यार्थी संघका नेता जनक शर्माको नेपाली काँग्रेसको क्रियाशिल सदस्यता नविकरण भएन। गाँउ कार्यसमितिले नविकरणको लागी सिफारिस गरि पठाएपनि पार्टी सभापति दीपक जंग शाहले नै नविकरणको लागी सिफारिस नगरिदिएपछि उनीहरु क्रियाशिल सदस्यबाट बञ्चित हुन पुगेका हुन्।
उनीहरु मात्र होईन चार दर्जन बढी काँग्रेसका कार्यकर्ताको सदस्यता नविकरण नभएपछि १३ महाधिवेशनको पुर्व सन्ध्यामा जिल्लामा हुने गाँउ तथा जिल्ला अधिवेशनमा भाग लिनबाट उनीहरु बञ्चित हुने भएका हुन्। सभापति शाहले आफुलाई सहयोग नगर्नेको छानीछानी नविकरणमा रोक लगाएको सदस्यता नविकरण नभएकाले आरोप लगाएका छन्। जाजरकोट क्षेत्र नं २ बाट निर्वाचित नेपाली काँग्रेसका साँसद राजिव बिक्रम शाह निकटका क्रियाशिलको नविकरणमा सभापतिले रोक लगाएका हुन्।
पार्टी विधान अनुसार क्रियाशिल सदस्यले सदस्यता नविकरणको लागी गाँउ कार्य समिति हुदै क्षेत्रिय कार्यसमिति र जिल्ला कार्य समितिको सिफारिसमा केन्द्रले सदस्यता नविकरण गर्ने प्रावधान छ। काँग्रेसको आसन्न जिल्ला अधिवेशनमा आफ्नो पकड कायमै राख्न सभापतिले आफ्ना विरोधीहरुको सदस्यता नविकरण नगरेको थाह पाएपछि उनका विरोधी खेमामा खैलाबैला मच्चिएको छ। सांसद शाहले बुधवार नै सदस्यता नविकरण नभएकाको पुनः नविकरणको माग गदै पार्टी सभापति शुशिल कोईरालालाई सम्बोधन गरेर केन्द्रिय कार्यालयमा निवेदन दर्ता गराएका छन्।
सांसद शाहले बुधवार नै सदस्यता नविकरण नभएकाको पुनः नविकरणको माग गदै पार्टी सभापति शुशिल कोईरालालाई सम्बोधन गरेर केन्द्रिय कार्यालयमा निवेदन दर्ता गराएका छन्।
उनको निवेदनमा जाजरकोट जिल्लाको क्षेत्र नं. १ र २ का इमान्दार र वर्षैा देखि पार्टीमा लागेर पार्टीप्रति प्रतिबद्ध हुँदै आएका क्रियाशील सदस्यहरुको नाम गाँउ तथा क्षेत्रीय ईकाइबाट नविकरण तथा नयाँ क्रियाशिल सदस्य दिने निर्णय समेत भई सकेको अवस्थामा तपसिल बमोजिमका सदस्यहरुको छुट भएकोले उक्त सदस्यहरुलाई क्रियाशिल सदस्यमा समावेश गराई दिनुहुन अनरोध गर्दछु भनिएको छ। जिल्लाका पैक, गर्खाकोट, झाप्रा, सीमा, सुवानाउली, कोर्ताङ्ग, दह, मजकोट लगायतका गाविसमा यस्तो समस्या देखिएको सांसद शाहले बताए। उनले इमान्दार र निष्ठावान कार्यकर्ताको सदस्यता पार्टी सभापतिले खोसेर पार्टी कब्जा गर्न खोजेको हुँदा केन्द्रले तत्काल नविकरण तथा नयाँ सदस्यता छुटाईएकाको क्रियाशिल सदस्यता प्रदान गरिदिन माग गरे। कार्यकर्ताले सदस्यतै नपाए उनीहरुमा निराशा छाउने भएकोले कसैको ब्यक्तिगत स्वार्थमा लागेर केन्द्रले काम नगर्न आग्रह गरे।
यस अघि सभापति शाहले खलंगा गाविसका एक सय बढीको क्रियाशिलको नविकरण सिफारिस गरेका थिएनन्। अन्य नेताहरुले केन्द्रमा उजुरी गरेपछि उक्त गाविसका सवै क्रियाशिलको नविकरण केन्द्रले नै गरिदिएको थियो। तर विवादका कारण खलंगा गाविसका नयाँ क्रियाशिललाई महाधिवेशन पछि मात्र क्रियाशिल सदस्यता दिने सहमति भएको छ।