arrow

महिला उम्मेदवारलाई शीर्ष दलले हेपेपछि, जिल्लाबाट सिफारिस केन्द्रमा फालिने 

logo
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
3dal.jpg

बारा । जिल्लाको चार वटा निर्वाचन क्षेत्रमा ठूला राजनीतिक दलका नेताले महिलालाई प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यमा टिकट नदिएका कारण महिला नेत्री रुष्ट बनेका छन् । 

दलहरुले आफैँले बनाएको घोषणापत्रमा मात्र नभई संविधानले नै महिलालाई ३३ प्रतिशत आरक्षणको व्यवस्था गरे पनि दलले महिलालाई टिकट नदिई संविधानको मर्म र भावनामाथि नै प्रश्न चिह्न खडा गरेको पूर्व भौतिक योजना तथा निर्माण सहायकमन्त्री कलावती पासवानले बताइन् । 

जिल्लामा नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र तराई मधेश केन्द्रित दलमा केन्द्रीय नेता हुँदा पनि महिलालाई टिकट नदिकाले महिला नेत्रीहरूले खुलेरै विरोध गर्न थालेका हुन् । 

नेपाली काँग्रेसका निरु रायमाझी, सुभद्रा धिमाल, एमालेकी शोभा कार्की र तेतर खातुन, राजपाकी नेत्री पिंकी यादव पनि जिल्लामा एक जना महिलालाई पनि टिकट नदिनु दुर्भाग्य हो भनिन् ।  

निर्वाचमा महिलाको प्रतिनिधित्व नगराउँदा अहिले पनि पुरुषले उनीहरूलाई चुलोचौकामा मात्र सीमित राख्ने सोच बनाएको संकेत गर्ने निर्वाचन क्षेत्र नं १ को नेपाली काँग्रेसको महाअधिवेशन प्रतिनिधि नजबुन बढइ उल्लेख गर्छिन् । 

महिलालाई अल्झाएर प्रयोगको साधनमात्र बनाउन खोजेको र पार्टीहरु नीति नियमअनुसार सञ्चालन हुन नसक्नु अर्को कारण पनि भएको नेत्री बढइको धारणा छ । 

निर्वाचन क्षेत्र नं ४ मा ठूला तीन पार्टीका सक्षम महिला नेत्री रहेकामा खासगरी नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रले प्रतिनिधिसभा तथा प्रदेशसभामा महिलालाई सो क्षेत्रबाट टिकट दिएका छैनन् । 

सो क्षेत्रमा पूर्व सांसद मधु शाहीलगायत दर्जनौँ महिला नेत्री राजनीतिमा सक्रिय छन् । 

ठूला राजनीतिक दलले महिलालाई टिकट नदिनु महिलामाथि विभेद भएको बारा नागरिक समाजका जिल्ला अध्यक्ष उमेशलाल दास बताउँछन् । 

महिलालाई प्रतिनिधिसभा सदस्यमा टिकट दिन सिफारिस गरिए पनि केन्द्रबाट नदिएको एमालेका जिल्ला अध्यक्ष सुन्दर विश्वकर्माको भनाइ छ । 

नेपाली काँग्रेसका बारा जिल्ला सभापति जयचन्द्र चौरसियाको तर्क पनि उस्तै छ, जिल्लाबाट हामीले प्रतिनिधिसभा तथा प्रदेशसभामा महिलाको नाम समावेश गरी केन्द्रमा पठाए पनि केन्द्रले के सोचेर महिलालाई टिकट नदिएको थाहा भएन भन्छन् ।  

बारामा चार वटा प्रतिनिधिसभा सदस्य, आठ वटा प्रदेशसभा सदस्यका लागि ४८ जना प्रतिनिधिसभा सदस्य र १०९ जना प्रदेशसभा सदस्यका लागि चुनावी प्रतिस्पर्धामा छन् ।

जिल्लामा तीन लाख ४९ हजार, ९४६ मतदाता छन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ