'सुख दुखको साथी रामहरीलाई नै जिताउनुपर्छ भन्ने सल्लाह भएको पाएको छु'
हाम्राकुरा संवाददाता,
प्रकाशित २०७४ मंसिर ७ बिहिबार
761
Shares
ओखलढुंगाको प्रतिनिधि सभा सदस्य नेपाली काँग्रेसका उम्मेदवार रामहरी खतिवडा निर्वाचन क्षेत्र घुमिसक्दा आफू जित्नेमा ढुक्क देखिएका छन्। खतिवडाले लोकतन्त्रवादीले नजित्दा के हुने रहेछ भनेर राम्री बुझिसकेकाले त्यसको प्रतिवाद जनताल नैं गर्ने बताएका छन्। प्रस्तुत छ खतिवडासँग गरिएको कुराकानीः
प्रश्नः चुनावी कार्यक्रमका क्रममा गाउँगाउँ घुमेर फर्किनुभएको छ, नागरिकको भेटघाट पछि के पाउनु भयो प्रतिक्रिया ?
जवाफः म निरन्तर मतदाताको घरदैलोमा छु । उहाँहरुसँगको भेटघाटमा २०७० सालको निर्वाचन पछि मैले संसदमा खेलेको भूमिका, भुकम्प पछिको राहत र उद्धारमा पुर्याएको योगदान र जिल्लाको समृद्धी र विकासमा मैले पुर्याएको योगदानका कारण हामी तपाईलाई भुल्न सक्दैनौं भन्नेका छन् । सक्रिय संसदको रुपमा मलाई देखेका ओखलढुङगावासीले जिल्लाको विकासमा कमी नगर्नु होला निर्वाचनमा यस पटकको मत तपाईलाई नै हो भनेको छन् । जहाँसम्म अघिल्लो निर्वाचनमा क्षेत्र नं. १ का जनताले तपाई हाम्रो क्षेत्रमा आइदिनु पर्यो भन्ने माग थियो संयोगबस यस पटक दुबै क्षेत्रको सिँगो प्रतिनिधि हुनपर्ने भएबाट त्यस क्षेत्रका मतदाताले मप्रति खुशी व्यक्त गरेका छन् । २०६४ सालदेखि ओखलढुंगाको क्षेत्र नं. १ को नेतृत्व बामपन्थीहरुले गरे उनिहरुको हुर्मत कति भन्ने मतदाताले राम्रो बुझेका छन्। नेपाली काँग्रेसको लोकतन्त्रप्रतिको प्रतिबद्धता र इतिहासले नै मतदाता काँग्रेसको रक्षामा लागेका छन भने काँग्रेसले पठाएको उमेरद्धारलाई विजय गराउनु पर्दछ भन्ने आममतदाताको भावना पाएको छु ।
प्रश्नः तपाईसँग त्यस क्षेत्रका नागरिकहरुले के अपेक्षा गरेको पाउनु भयो ।
जवाफः मैले अघिल्लो निर्वाचन पछि संसदमा खेलेको भुमिका आम मतादातालाई राम्रोसँग थाहा छ । मुख्य अपेक्षा भनेको स्थानिय तहदेखि केन्द्रसम्म नागरिकको आवाज बुलन्द गर्न शसक्त व्यक्ति आवश्यकता छ भन्ने महसुश गरेका छन्। मैले केही बहुबर्षिय आममहत्वका विकासका आयोजनाहरुमा यथेष्ट रकम विनियोजन गरी कार्यन्वयन शुरु गराएको छु । मैले शुरु गराएका मोलङ्ग हाइड्रो, भूकम्प पछिको सरकारी र सार्वजनिक निकायको पुनःनिर्माण, भुकम्प पिडितका निजी आवास निर्माण लगायतका दुधकोशी ड्याम, साँघुटार ओखलढुंगा सिलौरीघाट सडक पिच आवश्यकता अनुसार मोटरपुल, लिखु, मोलङ्ग र दुधकोशी एकवार जिल्लाका मोलङ्ग खोला लगायत विभिन्न मोटरबाटोमा १० वटा मोटरेवल पुल निर्माण, भुकम्पले क्षति पुर्याएका ग्रामिण भेकका विद्यालय र स्वास्थ्य चौकी लगाएतका दर्जनौं विकास आयोजनाको निर्माण सम्पन गराउनु पर्ने दायित्व रहेको छ। यी उल्लेखित कार्य खतिवडाले मात्र पुरा गर्न सक्दछन भन्नेमा नागरिकको अपेक्षा छ। हामीले केही नयाँ प्रतिवद्धता जारी गरेका छौ त्यो पुरा हुदाँ सबै खाले विकासको आधार तय हुन्छ भन्ने छ । निर्वाचन लगतै हामीले प्रतिवद्धताको कार्यन्वयनका लागि छलफल अगाडी बढाउने छौं । हामी सबैको दुःख सुखमा आइपुग्ने रामहरी नै हो भन्ने विश्वास मतदातासँग छ, म पुग्छु पनि ।
प्रश्नः तपाईले निर्वाचन जित्ने आधार के के हुन ?
जवाफः सिँगो नेपाली काँग्रेसका नेता तथा कार्यकर्ता र शुभचिन्तहरु तन, मन र दिलो ज्यान दिएर लोकतन्त्र बचाउन लागि परेका छन । उनिहरुलाई राम्रौसँग थाहा छ कि लोकतन्त्रलाई कम्युनिष्ट गठबन्धनले चुनौति दिई रहेको छ । लोकतन्त्र बलियो बनाउन गाउँगाउँमा नागरिकहरु मेरो उमेद्धारीका कारण विश्वस्त छन्। आममतदाताहरु नेपाली काँग्रेसका लागि मतदान गर्ने दिनको पर्खाइ छन्। अहिले २१ औं शताब्दीमा मतदाताहरु उमेरद्धारको व्यत्तित्वलाई गहिरोसँग बुझेर सुझबुझका साथ भोट हाल्ने पक्षमा छन् । नेपालीहरुले कन्यादान र मतदान गर्दा धर्म, संस्कृत र संस्कारलाई शिरमा राखेर सोचेर विचार पुर्याएर मात्र गर्छन भन्ने मलाई विश्वास छ । अहिलेसम्म काँग्रेसका प्रतिनिधिहरुले गरको कृयाकलापहरुबाट काँग्रेस र लोकतन्त्रलाई बचाउन कम्युनिष्ट गठबन्धनसँग जस्तो सुकै प्रतिबाद गर्न मतदाता आफै तयार छन् । यस्त प्रसस्तै आधारहरु खडा भएका छन जस्ले गर्दा निर्वाचन जित्ने सुनिश्चित छ ।
प्रश्नः तपाईलाई निर्वाचन जित्न के के चुनौति देख्नु भएको छ ।
जवाफः म अरुको बारेमा कुरा गर्न चाहन्न अर्काको कुरा काटेर कही हुनेवाला छैन। विपक्षीहरुले केही नलाग्ने देखेपछि भ्रमको खेति गरेका होलान । तर मतदाता सबै मेरो सिधा सम्पर्कमा छन, उनिहरु निर्वाध रुपमा मलाई भोट हाल्न तयार छन्। मलाई जन्म दिने आमा बराबर मेरा मतदाता हुन् । कसैले हौवा दिएर उनिहरुले विश्वास गर्नेवाला छैनन । पैसा ओछ्याएर भ्रम फिजाँएका भरमा निर्वाचन जित्ने धावा कसैले नबोले हुन्छ । मतदातालाई आक्रमण गर्ने, कतिपय स्थानमा बुथ कब्जा गर्ने, मतदाताहरुलाई डरधाक धम्की दिने मतदाताको मतादेश पैसाको भरमा आफ्नो पक्षमा लिने प्रयास गरिए नेपाली काँग्रेसका मतदाता, कार्यकता र नेताहरुले छाड्नेवाला छैनन्। हामीले भनेका छौ मतादेशको दुरुपयोग हुने अवस्था सृजना भयो भने लोकतन्त्र खतरामा पर्दछ । सजग रहन हामीले सम्वन्धित निकायलाई भनेका छौ । यदि त्यसो भयो भने हामी छोड्नेवाला छैनौं । हाम्रा मतदाता र कार्यकर्ताको सुरक्षा म र मेरो पार्टीले गर्दछ, निर्धक्क भए हुन्छ। हामी सबै चुनौतीलाई चिर्दै मतदाताको मायाबाट चुनाव जितेर आउँदैछौ।