arrow

जनतालाई मालिक बनाउने पार्टी रोज्ने कि शासन लाद्ने : देउवा

logo
शरद रेग्मी,
प्रकाशित २०७४ मंसिर १२ मंगलबार
pm.jpg

दाङ । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले एक दलीय कम्युनिष्ट शासन लाद्ने पार्टीलाई रोज्ने कि जनतालाई मालिक बनाउने पार्टीलाई रोज्ने भन्ने समय आएको बताएका छन् ।  

 दाङमा मंगलबार भएका तीनवटा चुनावी सभालाई सम्बोधन गर्दै देउवाले कम्युनिष्टहरुको शासन आए जनताले राम्रोसँग आफ्नो अधिकारका लागि बोल्न पनि नपाउने बताए । ‘कम्युनिष्ट शासन आए अन्याय भयो भन्न र रुन पनि पाइँदैन। त्यसैले काग्रेसलाई जिताउनुस्। त्यसपछिमात्रै जनताको अधिकार सुनिश्चित हुन्छ,’ देउवाले भने।

मंसिर २१ मा हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनमा कांग्रेसले जितेमात्रै जनताको अधिकार सुनिश्चित हुने उनले बताए । प्रधानमन्त्री देउवाले कांग्रेसले नजित्दा कांग्रेसकै नेतृत्वमा जारी भएको संविधानलाई च्यातेर कम्यु्निष्ट गठबन्धनले एक दलीय राष्ट्रपतीय प्रणाली लागू गर्ने भएकाले कांग्रेसलाई जिताउन आग्रह गरे।
 
कांग्रेसले जितेमात्रै जनताको हक र अधिकारको सुनिश्चितता हुने भन्दै प्रधानमन्त्री देउवाले आफ्नो पार्टीको नेतृत्वमा सरकार बनेमात्रै जनताले अन्याय हुँदा अन्याय भयो भन्न पाउने बताए ।  देउवाले मुलुकलाई सम्पन्न बनाउने पार्टी नै कांग्रेस भएको बताउनु भयो। कांग्रेसलाई अन्तर्राष्ट्रिय समुदायले पनि विश्वास गरेकाले मुलुकमा विदेशी लगानी भित्र्याएर युवाहरुका लागि रोजगारीको सिर्जना गरिने बताए ।

उनले कांग्रेसले जिते बेरोजगार युवालाई बेरोजगारी भत्ता दिने र जेष्ठ नागरिकको भत्ता मासिक ४ हजार पुर्‍याउने घोषणा गरे। उनले कांग्रेसले जिते दाङमा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने प्रतिबद्धता पनि जनाए ।

चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको सम्वृद्धि र विकासका लागि कांग्रेसलाई जिताउन आग्रह गरेका छन् । पौडेलले कम्युनिष्टहरुले समस्या समाधान होइन समस्या उब्जाउनमात्रै जान्ने भएकाले कांग्रेसलाई जिताउनुको अर्को विकल्प नभएको बताए ।
 
पौडेलले कम्युनिष्टहरुले जिते मुलुकको कल्याण नहुने र मुलुक विग्रहमा फस्ने दाबी गरे। उनले एमालेले हिमाल, पहाड र तराईका नाममा जातीय द्वन्द्व निम्त्याउन खोजेको आरोप लगाए । नेता पौडेलले वाम गठबन्धनलाई निर्वाचनमा पराजित गरेर जनताले यो पटक मुखभरीको जवाफ दिनु पर्ने बताए । जनताले कांग्रेसलाई जिताएर उचित जवाफ दिए वाम गठबन्धनको चुरीफुरी समाप्त हुने पनि बताए ।

सभालाई सम्बोधन गर्दै महामन्त्री डा. शशांक कोइरालाले कांग्रेसप्रति देखिएको जनलहरले कांग्रेसको जित सुनिश्चित भएको बताए । उनले मंसिर २१ गतेको निर्वाचनमा कांग्रेसलाई मत हाल्नासाथ जनताको भाग्यरेखा कोरिने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ