ज्वालामुखीका कारण बन्द विमानस्थल बुधबारबाट सञ्चालनमा आउने
प्रकाशित २०७४ मंसिर १३ बुधबार
243
Shares
बाली, इन्डोनेसिया। इण्डोनेसियाको बाली द्वीपमा ज्वालामुखी विस्फोटको खतराका कारण गएको तीन दिनदेखि बन्द रहेको बालीको विमानस्थल बुधबारबाट सञ्चालनमा आउने भएको छ ।
इन्डोनसियाली अधिकारीले ज्वालामुखीको खरानीका कारण उक्त सहर प्रदूषित हुनुका साथै सो विमानस्थलबाट उडान पनि तीन दिनदेखि रोकिएको जनाएका थिए ।
केही समययतादेखि सो क्षेत्रमा ज्वालामुखीको खतराको बारेमा भविश्यवाणी गरिएको थियो । त्यसैले मङ्गलबार दोस्रो दिन पनि सो विमानस्थल बन्द राखेका बताइएको थियो ।
ज्वालामुखीको खरानी निकै ठूलो मात्रामा निस्किएको छ । यसका कारण बालीमा रहेको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थलबाट उडान पनि हुन सकिरहेको छैन ।
खरानीका कारण मानवीय समस्या त छँदैछ, यसले जहाजको इञ्जिनमा समेत क्षति पुर्याउने बताइन्छ । त्यसैले मङ्गलबार पनि उक्त विमानस्थलबाट उडान रोकिएको हो ।
बाली द्वीपको माउण्ट आगुङ्गनामक एक पहाडबाट केही दिनयतादेखि कालो ग्यास र धुवाँ निस्किरहेको देखिएको छ । यसैकारण भूगर्भविद्ले ज्वालामुखीको खतराको भविश्यवाणी गरेका छन् ।
सरकारले सर्वसाधारण नागरिकलाई नआत्तिन र शान्त रहन भनेको छ । साथै उनीहरुलाई सकेसम्म आफ्नो सुरक्षित स्थान खोजेर सर्न र सतर्क रहन पनि भनिएको समाचारमा उल्लेख छ ।
बालीमा रहेको एकमात्र अन्तरराष्ट्रिय विमानस्थल बाली एनगुरह राई विमानस्थल बुधबार अपरान्ध ३ बजेदेखि सुचारु हुने भएको छ, उक्त विमानस्थलका प्रवक्ता आरी आसानुरोहिमले बताए ।
त्यसअघि बालीको वातावरणमा खरानीको मात्राको परीक्षण गर्ने र यसपछि लगत्तै विमानस्थल सुचारु गर्ने बारेमा सूचना जारी गरिने छ, उनले जानकारी दिए। सिन्ह्वा