arrow

सुवास नेम्वाङको क्षेत्रमा मतदाताको पहिरो, झण्डै ५ सय कार्यकर्ता काँग्रेसमा प्रवेश

logo
प्रकाशित २०७४ मंसिर १४ बिहिबार
Ilam_congress_prabesh1.jpg

काठमाडौं । चुनावको मुखैमा पूर्व सभामुख समेत रहेका एमाले नेता सुवासचन्द्र नेम्वाङको क्षेत्रमा मतदाताको पहिरो गएको छ । काँग्रेसले बिहीबार देउमाई नगरपालिका ४ मंगलबारेमा गरेको विशाल आमसभामा झण्डै ५ सय भन्दा बढी कार्यकर्ताहरु काँग्रेसमा प्रवेश गरेसँगै नेम्वाङ आफ्नै किल्लामा असुरक्षित बन्न थालेका हुन् । 

झण्डै दुई दशकदेखि निरन्तर चुनाव जित्दै आएका नेम्वाङलाई यस पटक लिम्बुवानहरुले पनि खुलेर समर्थन नगरिरहेको अवस्था देखिन्छ । प्रतिनिधि सभाको निर्वाचनमा निर्णयक मत मानिएका लिम्बूहरुको असन्तुष्टि र चुनावको एक साता मात्रै बाँकी रहँदा नेम्वाङको किल्लामा यति धेरै कार्यकर्ता काँग्रेसमा प्रवेश गर्नुले उनको लोकप्रियतामा कमि आएको र विस्तारै उनको गढ भत्किने तयारीमा रहेको अनुमान स्थानीयको छ । 

संविधानमा आफ्ना एजेण्डाहरु समेट्न नसकेको भन्दै लिम्बुवानहरु यसपाली नेम्वाङप्रति असन्तुष्ट छन् । सोही समयमा देउमाइ नगरपालिकाका विभिन्न वडा सहितका झण्डै ५ सय जना काँग्रेसमा प्रवेश गरेपछि नेम्वाङ थप दबाबमा परेका हुन् । कार्यक्रममा पुवामजुवा गाउँ कमिटीका अनेरास्ववियु अध्यक्ष भूपाल खत्री सहित २५ जना,  देउमाई नगरपालिकाका २ बाट देउ कुमार मगर स्वदेश मगर गोविन्द लिम्बू, पदम कुमार लिम्बू, निशेक लिम्बू लगायत २५ जना काँग्रेसमा प्रवेश गरेका छन् । 

त्यस्तै, देउमाई नगरपालिकाका ४ बाट चन्द्रमान देघा र रेशबहादुर स्वनामको नेतृत्वमा ५० जना, देउमाई नगरपालिकाका ३ बाट तिलमान तामाङ, निमा तामाङ, खड्कबहादुर तामाङ र दिनेश तामाङ, सोम बहादुर तामाङ, पदम बहादुर तामाङ, सुरेश तामाङ, सोम तामाङ र सन्देश तामाङलगायत ८५ जना, देउमाई नगरपालिकाका ५ बाट १०३ जना काँग्रेसमा प्रवेश गरेका छन् ।   

कम्युनिष्ट गठबन्धनका कारण कम्युनिष्ट मतदाताहरुको संख्या बढ्दै गएको भनेर ढुक्क भएका नेम्वाङलार्इ बिहीबारको यो घटनाले ठूलै झड्का दिएको स्थानीयहरुको आकलन छ । यस अघि ३ वटा क्षेत्रबाट २ वटामा गाभिँदा २ नं क्षेत्रमा ३ नं क्षेत्रका काँग्रेसको गढ मानिने वडाहरु गाभिएका कारण यस अघि पनि नेम्वाङ केही दबाबमा छन् भने यसले थापालाई केही सहज हुने देखिन्छ । 

यद्यपि यो क्षेत्रमा विकासे नेताको रुपमा चिनिने काँग्रेस उम्मेदवार केशव थापा र संविधानसभाको अध्यक्षता गरेरै संविधान निर्माण गरेका पूर्व सभामुख नेम्वाङबीच कडा प्रतिस्पर्धा हुँदैछ । यसमा थापाले ०६४ सालको बदला लिने प्रयास गर्दैछन् भने नेम्वाङ ०६४ कै परिणाम दोहोर्याउने प्रयासमा छन् । यो महाभीडन्तमा कसको पल्ला भारी हुन्छ भन्नेबारेमा भने मंसिरको अन्तिमसम्म कुर्नैपर्ने देखिन्छ । 

तर, अहिलेको नेम्वाङमाथिको जीत भनेको थापाको लागि २०६४ को आफूमाथिको जीत जस्तो नभई एउटा महत्वपूर्ण र ऐतिहासिक जीत सावित हुनेछ । दुई बामपन्थी शक्तिहरुलाई बामपन्थीहरुकै लालकिल्लामा च्यालेन्ज दिनसकेको खण्डमा त्यो थापाका लागि सामान्य नभएर ऐतिहासिक जीत मानिनेछ । यसैको लागि बाटो पन्छार्इदिएको छ बिहीबारको पार्टी प्रवेश कार्यक्रमले । 
 
संसद्मा गरिएका कतिपय गतिविधिहरुका कारण पछिल्लो समय नेम्वाङप्रति त्यहाँका लिम्बूहरु असन्तुष्ट रहेका छन् । उनीहरु राष्ट्रिय राजनीतिमा त्यतिधेरै प्रभावशाली हुँदाहुँदैपनि आफ्नो जिल्लाका लागि केही गर्न नसकेको, लिम्वुवान बनाउन नदिनुमा नेम्वाङको पनि संलग्नता रहेको जस्ता विषयलाई लिएर उनीहरु असन्तुष्ट रहेका छन् । उनको भोट बैंकको रुपमा मानिएको चुलाचुली, बाँझो, साकफारा जस्ता ठाउँका लिम्बूहरु नै नेम्वाङविरुद्ध बढी असन्तुष्ट रहेको र थापाले विकास भने पनि गर्छन् भन्ने भान धेरैमा रहेका कारण थापालाई फाईदा हुने देखिन्छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ