- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । नेपाल ओलम्पिक कमिटी एनओसीका अध्यक्ष एवं काठमाडौं क्षेत्र नम्बर ८ का उम्मेदवार जीवनराम श्रेष्ठले इन्डोनेसियामा हुने १८ औं एसियाली खेलकुदलाई परिणाममुखी बनाउने उद्देश्यले काम गरिरहेको बताएका छन् ।
उनले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि १८ औं एसियाली खेलकुदलाई परिणाममुखी बनाउन जोडतोडका साथ लाग्ने पनि बताएका छन् ।
उनले अब कसैको सोर्सफोर्समा खेलहरु समावेश पनि नगर्ने र खेलाडी पनि नराख्ने बताए ।
उनले खेलाडी सहभागीताको विषयमा विगतको रेकर्ड, सम्भावना बोकेको खेल र सफलता हात पार्ने आधारलाई ध्यान दिने बताए ।
नेपाल ओलम्पिक कमिटीले बिहिबार पत्रकार सम्मेलन गर्दै विगतका एसियाडमा झै सहभागितालाई मात्र केन्द्रित नगरी टिम तयारीको विषयमा एनओसीले विशेष ढंगले संलग्नता जनाउने बताएको छ ।
कमिटीका अध्यक्ष श्रेष्ठले चुनावपछि बन्ने नयाँ सरकारकासँग समन्वय गरी टिम तयारीमा विशेष ध्यान दिने बताए ।
श्रेष्ठले अन्तर्राष्ट्रिय ओलम्पिक कमिटीले अन्तर्राष्ट्रिय स्तरको कर्भडहल निर्माणका लागि ४ करोड दिन लागेको बताउँदै काठमाडौं क्षेत्र नं ८ को डल्लु आवास क्षेत्रमा कर्भडहल निर्माण गर्ने बताए । ‘यसका लागि छलफल समेत भइसकेको छ । काठमाडौं ८ मा नै अन्तर्राष्ट्रियस्तरको कर्भडहल निर्माण हुने छ ।’
उनले सोही अवसरमा देशको खेलकुद क्षेत्रको विकासका लागि नयाँ ढंगले अगाडी बढ्ने प्रतिबद्धता समेत व्यक्त गरे । ‘यो पटक विशेष ढंगलले तयारी गरी परिणामुखी बनाउने छौं ।
खेलाडी सहभागिता गराउन चाहने संघले कस्तो परिणाम प्राप्त गर्न सक्ने हो र त्यसका आधार पेस गर्नुपर्ने छ । हचुवाका भरमा र सोर्स फोर्समा अब एसियाडमा सहभागिता हुने छैन ।’ उनले भने, ‘खेलाडी छनोट प्रक्रिया पारदर्शी हुनुपर्छ । सबैले छनोटमा सहभागी हुने अवसर पाउनुपर्छ । यसका लागि विशेष पहल हुन्छ ।’
१८ औं एसियाडमा विभिन्न ४० खेलमा ४ सय ६२ इभेन्टमा प्रतिस्पर्धा हुँदैछ । एनओसीले एसियाडमा राम्रो नतिजा ल्याउनका लागि विशेष प्रशिक्षणका कार्यक्रम गर्ने बताएको छ ।
‘वैदेशिक सहयोग लिएर विदेशी प्रशिक्षक झिकाउने र केहि खेलाडीलाई वैदेशिक प्रशिक्षणमा लैजाने विषयमा ओलम्पिकले काम गरिरहेको छ ।’ श्रेष्ठले भने, ‘निर्वाचन लगत्तै तयारीमा जुट्ने छौं ।’
नेपालले विगतका दुई एसियाडमा तितो अनुभव गरेको छ । जम्बो टोलीको सहभागिता रहे पछि चीनको ग्वान्जाउमा भएको १६ औं एसियाड र दक्षिण कोरियाको इन्चोनमा भएको १७ औं एसियाडमा १–१ कास्य पदकमा चित्त बुझाएको थियो ।
१६ औं एसियाडमा बक्सिङको ८१ केजी तौलसमूहतर्फ दिपक महर्जनले कास्य पदक जितेका थिए भने १७ औं एसियाडमा विमला तामाङले करातेको एकल कातामा कास्य जितेकी थिइन् । त्यस अघि दोहामा भएको एसियाडमा भने नेपालले तीन कांस्य पदक जितेको थियो ।
त्यसैगरी एसियाली खेलकुदको प्रबद्धन र सफलताका लागि १० अप्रिलमा एनओसीले फन रन समेत आयोजना गर्ने भएको छ । एसियाली खेलकुदमा समावेश विभिन्न खेल इन्डोनेसियको दुई सहर जकार्ता र पालेम्वाङमा हुने अध्यक्ष श्रेष्ठले जानकारी गराए ।
सेफ दि मिसनको बैठकमा राणा
एनओसीले इन्डोनेसियाको जकार्तामा हुने १८ औं एसियाली खेलकुदको तयारीको विषयमा हुने सेफ दि मिसनको बैठकमा कमिटीकी उपाध्यक्ष ज्योति राणालाई पठाउने भएको छ ।
सो तयारी बैठक १२ देखि १४ डिसेम्बरसम्म हुँदै छ । त्यसैगरी एनओसीका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ पनि उक्त बैठकमा सहभागी हुने छन् । १८ औं एसियाडको सेफ दि मिसन भने पछि तोकिने एनओसी अध्यक्ष श्रेष्ठले बताए ।