टिलर्सनलाई हटाउने सम्वन्धी भ्रामक समाचार नपत्याउन ट्रम्पको आग्रह
प्रकाशित २०७४ मंसिर १६ शनिबार
286
Shares
वासिङटन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले विदेशमन्त्री रेक्स टिलर्सनलाई हटाउन लागेको भन्ने समाचारको खण्डन गरेका छन् ।
“ह्वाइट हाउसले टिलर्सनलाई हटाउन लागेको वा टिलर्सनले विदेश मन्त्रालयको जिम्मेवारी छोड्न लागेको भन्दै सञ्चार माध्यममा आएका समाचार झुटो र भ्रामक हो,” ट्रम्पले ट्विटरमा लेखेका छन्। “उहाँले हामीलाई छोड्न लाग्नु भएको होइन, उहाँसँग हामी सँगै काम गर्ने छौं,” उनले थप स्पष्ट पारे ।
बिहीबार धेरै अमेरिकी सञ्चार माध्यमहरुमा ट्रम्प र टिलर्सनको सम्वन्ध नराम्रो भएको दाबीसहितका समाचारहरु प्रकाशित तथा प्रसारित भएका थिए । यस विषयमा पनि ट्रम्पले स्पष्ट पार्दै भनेका छन्, “हामी दुइका बीचमा त्यस्तो कुनै नराम्रो सम्वन्ध छैन ।” विदेश मन्त्री टिलर्सनले पनि शुक्रबार ती समाचारलाई हास्यास्प्रद समाचार भन्दै गलत भएको स्पष्ट पारेका थिए ।
टिलर्सन अर्को हप्ता युरोप भ्रमण सुरु गर्ने तयारीमा छन् । त्यस क्रममा उनले ब्रसेल्स, भियना र फ्रान्समा नेटोका नेताहरुलाई भेट्नुहुने कार्यक्रम रहेको छ । सिन्ह्वा