arrow

विश्वप्रकाश शर्माको मन्त्रः स्वाधीन नेपालका लागि युवाशक्ति 

logo
प्रकाशित २०७४ मंसिर १७ आइतबार
1_(1)1.jpg

भद्रपुर । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा झापा क्षेत्र नम्बर १ बाट नेपाली कांग्रेसका उम्मेद्वार विश्वप्रकाश शर्माले देशको राजनीति पराधिन बन्नबाट रोकेर स्वाधीन नेपाल निर्मार्ण गरी छिटो समृद्धि हासिल गर्न युवा शक्ति आवश्यक परेको बताएका छन् । 
 
चुनावी अभियान अन्र्तगत भद्रपुर नगरपालिकाको वडा नं  ९ र १० को आयोजनामा चन्द्रगढीको वीपी चौकमा आयोजित बृहत् सभालार्इ सम्बोधन गर्दै शर्माले सवै पार्टीको साझा संकल्प तयार गरी आम गठबन्धन नभएसम्म देश सम्बृद्ध बन्न नसक्ने बताए ।
 
नेता शर्माले नेपालको राजनीतिमा जरो गाडेको आलोचना र विरोधको संस्कृतिमा पनि सुधार गर्न आवश्यक रहेको उल्लेख गरे । 

उनले गठबन्धनका नाममा दाहोरो झडपको अवस्थामा भावि संसदलाई लाद्न खोजिए समृद्धिको सपना चकनाचुर हुने बताए ।
 
शर्माले विगतमा काम गर्न नसकेका नेता र पार्टीलाई थान्को लगाएर वर्तमानमा राम्रो गर्न सक्ने नेतृत्व देशले खोजेको जनाउँदै जलस्रोतको परिचालन नै देश धनी बन्ने आधार प्रस्तुत गरे ।
 
उनले काँग्रेसले केही गरेन भनेर गाली गर्नेहरुले नेपालमा शिक्षा, स्वास्थ्य, विद्युतीकरण र सडक सञ्जालको विकासलाई हेर्न आग्रह गरे ।
 
शर्माले झापाको सदरमुकाम भएर पनि पछाडि परेको चन्द्रगढीको स्वरुप परिवर्तन गर्ने खाका पनि बौद्धिक वर्गसित माग गरे ।
 
उनले चन्द्रगढीबाट सुरु हुने समृद्धिको यात्रा बाहुनडाँगीमा पुग्दा झापा क्षेत्र नम्वर १ को सम्पूर्ण भूगोल सवल नेपालको नमूना वन्ने विश्वास समेत व्यक्त गरे ।

कार्यक्रममा क्षेत्र नम्वर १ प्रदेश क का उम्मेदवार केशवराज पाण्डेले चीन र  भारत जोड्ने पहाडी मार्ग निर्माणले जनताको जीवन स्तर उठ्ने प्रष्ट पारे ।
 
उनले व्यापारको प्रर्वधन, कृषिको उन्नति  र पर्यटनको विकास गर्ने  आफनो प्रतिबद्धता राखेका थिए । 

यस्तै  प्रदेश सभा ख का उम्मेद्वार अशोककुमार पोखरेलले राजनीतिमा प्रवेश गरेको विकृति अन्त्य गरेर विधिको शासनमा जनताको पहुँच आवश्यक भएको धारणा राखे ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ